भोलिदेखि उपत्यकावासीका धारामा मेलम्चीको पानी

काठमाडौं, पुस २९ गते । सरकारले माघे सङ्क्रान्तिकै दिन माघ १ गतेदेखि उपत्यकामा चौथो पटक मेलम्चीको पानी ल्याउने कार्यक्रम बनाएको छ । भोलि प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबिच पानी वितरणको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यसो त सर्वसाधारणले मेलम्चीको पानी नियमित वितरण हुने कुरामा आशङ्का गर्न थालेको पनि धेरै भइसकेको छ । लामो समयले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकामा ल्याउने पटक–पटकको सरकारी प्रयास असफल हुँदै गएको छ।

आयोजना निर्माण कम्पनी र सरकारबिचका पटक–पटकका द्वन्द्व, असमझदारी तथा स्थानीय समुदायका मागहरूको बेवास्तालगायतका विभिन्न कारणले मेलम्ची निर्धारित समयभन्दा वर्षौँ पछि मात्र निर्माण पुरा भएको छ। त्यसैले बाढी पहिरोले पनि यो आयोजना पछाडि धकेलिएको हो।

तर पनि मेलम्ची खानेपानी विकास समितिले सोमबार पानी पुर्नवितरणको शुभारम्भ गरिने जानकारी दिएको छ। समितिका अनुसार पुस २५ गते हेडवक्र्समा पानी छिराइएको हो। मेलम्चीको पानी सुन्दरीजलसम्म आइसकेको छ। त्यो पानीलाई उपत्यकाका विभिन्न पानी भण्डार केन्द्रमा छोडने कार्यक्रम छ।

खानेपानी मन्त्रालय र चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोबिच गत पुस ३ गते उपत्यकामा २८ दिन भित्रमा पानी वितरण गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको थियो। त्यही समझदारी अनुसार माघ १ गतेदेखि पानी वितरण गर्ने कार्यक्रम तय गरिएको समितिले जनाएको छ। पहिलो दिन उपत्यकामा ५ करोड लिटर पानी वितरण गर्ने र त्यो पानी उपत्यकाका सीमित क्षेत्रमा मात्र छोड्ने कार्यक्रम रहेको जनाइएको छ।