राजीनामापछि सुधन गुरुङले भने : रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ

काठमाडौँ — गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङले आफ्नो कदमलाई नैतिक जिम्मेवारीको निर्वाहका रूपमा व्याख्या गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले पदभन्दा नैतिकता ठूलो हुने बताएका हुन् ।

गुरुङले आफ्नो स्टाटसमार्फत ‘रामराज्य’को चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउनुपर्ने उल्लेख गरेका छन् । “कति मिडियाकर्मी साथीहरूको कहाँ कहाँ स्वेट सेयर छ विस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ,” उनले लेखेका छन् ।

उनले जनविश्वासलाई सबैभन्दा ठूलो शक्ति भन्दै देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढ्दै गएको उल्लेख गरेका छन् । पछिल्लो समय उठिरहेको ‘जेनजी आन्दोलन’ले पनि सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको उनको भनाइ छ ।

गुरुङले आफूविरुद्ध उठेका विषयमा निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले पद त्यागेको स्पष्ट पारेका छन् । पदमा रहँदा स्वार्थको द्वन्द्व देखिन नदिन र छानबिनमा कुनै असर नपरोस् भन्ने सोचका साथ राजीनामा दिएको उनले बताएका छन् ।

“मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु,” उनले भनेका छन्, “यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ ।”

उनको यो अभिव्यक्तिलाई वर्तमान राजनीतिक परिप्रेक्ष्यमा नैतिक उत्तरदायित्व र पारदर्शिताबारे बहसलाई थप तीव्र बनाउने संकेतका रूपमा हेरिएको छ ।