स्थानीय तहलाई दिएको अधिकार हस्तक्षेप नगर्न मेयर्स फोरमको आग्रह, वैशाख ११ बाट भर्ना सुरु गर्ने

काठमाडौँ — काठमाडौं उपत्यकाभित्रका पालिकाहरूले आगामी वैशाख ११ गतेदेखि विद्यालयमा नयाँ विद्यार्थी भर्ना अभियान सुरु गर्ने भएका छन् । उपत्यका मेयर्स फोरमको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

फोरमका अध्यक्ष चिरिबाबु महर्जनका अनुसार वैशाख ११ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गरी वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न उपत्यकाभित्रका सबै पालिकाहरूलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

यससँगै, स्थानीय सरकारलाई संविधानले दिएको अधिकार र जिम्मेवारीमा हस्तक्षेप नगर्न पनि फोरमले आग्रह गरेको छ ।

यसअघि सरकारले शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ गतेदेखि र पठनपाठन वैशाख २१ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयले विद्यालय सञ्चालनमा अन्योलता सिर्जना गरी नियमित शैक्षिक गतिविधिमा असर परेको भन्दै फोरमले ध्यानाकर्षण भएको जनाएको छ ।

फोरमका अनुसार गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन तथा अभिभावक संघलगायत सरोकारवाला निकायहरूको सुझावका आधारमा विद्यार्थीको सिकाइमा हुन सक्ने क्षति न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको हो ।

त्यसैगरी, शिक्षा नियमावलीअनुसार शैक्षिक सत्र सञ्चालनमा एकरूपता कायम गर्न भर्ना अभियान र पठनपाठन समयमै सुरु गर्न आवश्यक रहेको फोरमले जनाएको छ ।

इन्धन संकटको सम्भावनालाई ध्यानमा राख्दै फोरमले आगामी दिनमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिन तथा आवश्यकता अनुसार अनलाइन कक्षाजस्ता वैकल्पिक उपायको तयारी गर्न पनि सम्बन्धित निकायलाई अनुरोध गरेको छ।