काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको स्थानमा हाजिर नभएका १६ जना प्रमुख प्रशासकीय अधिकृतलाई तीन दिनभित्र अनिवार्य रूपमा कार्यस्थलमा पुग्न निर्देशन दिएको छ ।
मन्त्रालयका अनुसार २०८२ भदौदेखि माघसम्म विभिन्न स्थानीय तहमा खटाइएका उपसचिव तथा शाखा अधिकृत स्तरका ती कर्मचारीहरू हालसम्म तोकिएको निकायमा उपस्थित भएका छैनन् । नियमअनुसार सरुवा भएपछि २१ दिनभित्र कार्यक्षेत्रमा हाजिर हुनुपर्ने व्यवस्था भए पनि सो पालना नभएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जारी गरेको निर्देशनमा उनीहरूलाई ३ दिनभित्र सम्बन्धित पालिकामा रमाना लिई कामकाजमा उपस्थित हुन भनिएको छ। अन्यथा निजामति सेवा नियमावलीअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ।
तोकिएका प्रमुख प्रशासकीय अधिकृत नपुगेका स्थानीय तहहरूमा बझाङको जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिका, डडेलधुराको अमरगढी नगरपालिका, बैतडीको पुर्चौडी नगरपालिका, सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिका, अछामको साफेंबगर नगरपालिका, बर्दियाको ठाकुरबाबा नगरपालिका, रौतहटको गढीमाई नगरपालिका, बाराको महागढीमाई नगरपालिका, रामेछापको लिखु तामाकोशी गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका, सल्यानको सिद्धकुमाख गाउँपालिका, कपिलवस्तुको यशोधरा गाउँपालिका, सुनसरीको कोशी गाउँपालिका र भोजपुरको आमचोक गाउँपालिका रहेका छन्।
मन्त्रालयले स्थानीय तहमा प्रशासनिक सेवा प्रभावकारी बनाउन सरुवा निर्णय कार्यान्वयनमा कडाइ गरिने स्पष्ट पारेको छ।



