काठमाडौँ — काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्र बनाएको छ । शनिबार मात्रै महानगरभित्रका तीन प्रमुख स्थानमा रहेका अतिक्रमित बस्ती खाली गरिएका छन् ।
महानगरपालिकाका अनुसार काठमाडौँ–११ थापाथलीस्थित बागमती नदी किनार, वडा नं ९ को गैरीगाउँ–सिनामङ्गल क्षेत्र तथा वडा नं ३१ को शान्तिनगरमा रहेका अस्थायी तथा स्थायी संरचना हटाइएको हो। काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू डोजर प्रयोग गरी भत्काइएको हो ।
उनका अनुसार थापाथली क्षेत्रमा तुलनात्मक रूपमा अस्थायी संरचना भएकाले काम छिटो सम्पन्न भएको थियो भने गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा पक्की घरहरूको संख्या बढी भएकाले हटाउने प्रक्रिया राति अबेरसम्म चलेको थियो ।
सरकारको निर्देशनअनुसार गरिएको उक्त अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र महानगर प्रहरीको संयुक्त टोली परिचालित थियो । प्रभावित बासिन्दालाई आफ्ना सरसामान सुरक्षित रूपमा सार्न सहयोग गर्दै त्यसपछि मात्र संरचना भत्काउने काम अघि बढाइएको थियो ।
यद्यपि बस्ती हटाइएपछि भत्काइएका घर तथा सामग्री सोही स्थानमा छरिएको अवस्थामा रहेकाले आवागमनमा समस्या भएको स्थानीयले बताएका छन् । महानगरले ती अवशेष हटाउने तथा क्षेत्र सफा गर्ने काम क्रमशः अघि बढाइने जनाएको छ ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणका तथ्याङ्कअनुसार थापाथलीमा १४३, गैरीगाउँमा १६२, गोठाटारमा ७७, शान्तिनगरमा ४७६ र मनोहरा टोलमा १३ गरी कुल ८७१ परिवार सुकुमवासी बस्तीमा बसोबास गर्दै आएका छन् ।
सरकारले सार्वजनिक जग्गा संरक्षण, नदी किनार व्यवस्थापन तथा सहरी सौन्दर्यीकरणलाई प्राथमिकतामा राख्दै अभियान अघि बढाएको भए पनि प्रभावित परिवारको पुनःस्थापना र दीर्घकालीन व्यवस्थापनबारे प्रश्न भने अझै उस्तै रूपमा उठिरहेका छन् । सरोकारवाला पक्षहरूले व्यवस्थित बसोबासको वैकल्पिक व्यवस्था नगरी गरिएको हटाउने कार्यले दीर्घकालीन समाधान नदिने तर्क पनि गर्दै आएका छन् ।
यसैबीच, अभियानका क्रममा सबै स्थानमा शान्तिपूर्ण अवस्था रह्यो भने मनोहरा खोला किनारस्थित बस्ती हटाउने क्रममा भने तनावपूर्ण स्थिति बनेको थियो । अवरोधका क्रममा सुकुमवासी बस्तीका बासिन्दाले ढुङ्गा, इँटा र बोतल प्रहार गर्दा २२ सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेमध्ये नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरू समेत रहेका छन् ।
सुरक्षा निकायका अनुसार मनोहरा क्षेत्रमा भएको तनावपछि पनि नियन्त्रणमा लिएर संरचना हटाउने कार्य पूरा गरिएको छ।



