महानगर विद्युतीय बसको भाडा बढ्यो, दैनिक १३ हजार रुपैयाँ बुझाउनुपर्ने

काठमाडौँ — महानगर यातायातले सञ्चालन गर्दै आएका विद्युतीय बसको दैनिक भाडा वृद्धि गरेपछि चालक र सहचालकहरू आर्थिक दबाबमा परेका छन् । कम्पनीले यसअघि चालकबाट प्रतिदिन लिँदै आएको १० हजार ५ सय रुपैयाँ भाडा बढाएर १३ हजार रुपैयाँ पुर्‍याएको हो ।

काठमाडौँमा हाल सञ्चालनमा रहेका १० वटा विद्युतीय बसमा लागू गरिएको उक्त वृद्धि एकैपटक २ हजार ५ सय रुपैयाँले गरिएको हो । कम्पनीका अनुसार यात्रुको चाप बढेको र आम्दानी राम्रो भइरहेको आधारमा भाडा समायोजन गरिएको हो ।

तर चालक र सहचालकहरूले भने यस निर्णयले आफूहरूलाई मारमा पारेको बताएका छन्। एक चालकका अनुसार पहिले दैनिक भाडा तिरेपछि १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म बचत हुने गरे पनि अहिले १३ हजार बुझाउँदा खर्च धान्नै मुस्किल पर्ने अवस्था आएको छ। कम्पनीले ‘भाडा तिरेर चलाउने भए चलाऊ, नत्र अन्य चालक आउँछन्’ भन्ने दबाब दिने गरेको उनीहरूको गुनासो छ।

महानगर यातायातका निर्देशक केशव नेपालले भने कम्पनीले अध्ययन गरेरै भाडा वृद्धि गरेको दाबी गर्नुभयो। उहाँका अनुसार विद्युतीय बसमा यात्रुको चाप बढ्दो छ र केही दिनमा २० हजार रुपैयाँसम्म आम्दानी भएको रेकर्डसमेत रहेको छ। बस खरिदमा करिब डेढ करोड रुपैयाँ लगानी भएकाले किस्ता तिर्नसमेत दबाब रहेको भन्दै आम्दानीअनुसार भाडा समायोजन गरिएको उहाँको भनाइ छ।

कम्पनीले चालकलाई तलब प्रणालीमा काम गर्न प्रस्ताव गरे पनि चालकहरूले दैनिक कमाइको आधारमा काम गर्न रुचाउने गरेका कारण समस्या देखिएको बताइएको छ। साथै, केही चालकको जरिवाना नतिरेका कारण सवारीका कागजात व्यवस्थापनमा समेत समस्या आएको कम्पनीले जनाएको छ।

यता, भाडा वृद्धि भएपछि केही सहचालकले यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिन थालेको गुनासोसमेत आएको छ। तर कम्पनीले यात्रुसँग बढी भाडा उठाइएको विषय स्वीकार गरेको छैन।

पछिल्लो समय पेट्रोलियम सवारीको भाडा वृद्धि भए पनि विद्युतीय बसको यात्रु भाडा पुरानै दरमा कायम रहेकाले यात्रुहरू सस्तोका कारण विद्युतीय बसतर्फ आकर्षित भइरहेका छन्। तर यही अवस्थाले चालक–सहचालक र कम्पनीबीचको आर्थिक सन्तुलनमा नयाँ विवाद सिर्जना गरेको देखिएको छ।