काभ्रे – शनिबार र आइतबार परेको वर्षाका कारण बिपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।
डिभिजन सडक कार्यालय भक्तपुरले आइतबार राजमार्ग खुलाउने प्रयास गरे पनि अपराह्न पुनः वर्षा भएपछि काम प्रभावित भएको बताएको छ । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार जोखिमलाई ध्यानमा राख्दै अस्थायी डाइभर्सन निर्माण कार्य रोकिएको छ ।
आइतबार आठ स्थानमा डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गर्ने प्रयास गरिए पनि चारसयबेँसी क्षेत्रमा कामकै क्रममा वर्षा भएपछि अवरोध थपिएको उनले बताए ।
शनिबार दिउँसो वर्षा सुरु भएपछि जिल्ला प्रहरी कार्यालय धुलिखेलले सम्भावित जोखिमलाई मध्यनजर गर्दै दिउँसो ३ः३० बजेदेखि राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गराएको थियो ।
राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध–कटुन्जेदेखि रोशीको मङ्गलटार सडकखण्डसम्म रोशी खोला मा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीका कारण करिब चार किलोमिटर क्षेत्रमा बनाइएका अस्थायी डाइभर्सन बगाएको जनाइएको छ।
चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुङ्गा, डालाबेँसी, बुलढुङ्गा र माम्ती गरी आठ स्थानमा सडकमा क्षति पुगेको छ । यसअघि गत चैतमा पनि सोही क्षेत्रमा बाढीले सडक बगाएपछि अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।
राजमार्ग अवरुद्ध भएपछि धुलिखेल, काभ्रेभन्ज्याङ, मङ्गलटार तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा सवारीसाधन ‘होल्ड’ गरिएको थियो । सडक बन्द हुँदा अलपत्र परेका ६ सयभन्दा बढी यात्रुलाई आइतबार झोलुङ्गे पुलमार्फत तेमाल गाउँपालिका हुँदै नमोबुद्ध नगरपालिकाको भकुण्डेसम्म उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उद्धार गरिएका यात्रुलाई स्थानीयको सहयोगमा फलफूल, पानी तथा अन्य पेय पदार्थसमेत वितरण गरिएको थियो।
गत वर्ष असोजमा आएको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि हालसम्म खोलाबाटै अस्थायी सडक बनाएर यातायात सञ्चालन हुँदै आएको छ । अहिले सो क्षेत्रमा स्थायी सडक निर्माण कार्य जारी रहेको छ ।



