ढोरपाटन : आठ वर्षदेखि रोकिएको जलजला–सिसाखानी सडकको स्तरोन्नति कार्य पुनः सुरु भएको छ। गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत पहिलो चरणमा छ किलोमिटर सडक ग्राभेल गर्ने काम अघि बढाएको हो ।
यसअघि करिब एक करोड ७६ लाख रुपैयाँ खर्च गरेर सडकको दुई किलोमिटर खण्ड विस्तार गरिएको थियो। बाँकी खण्ड लामो समयसम्म अलपत्र रहँदा स्थानीयवासीले आवतजावतमा कठिनाइ भोग्दै आएका थिए ।
पूर्वाधार विकास कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनका अनुसार चालु आर्थिक वर्षमा थप एक करोड आठ लाख रुपैयाँ विनियोजन गरिएकाले बाँकी चार किलोमिटर सडक विस्तार तथा स्तरोन्नतिको काम तीव्र रूपमा अघि बढाइएको छ।
सडक स्तरोन्नति सुरु भएसँगै स्थानीय यातायात सहज हुने, कृषि उत्पादन ढुवानीमा सहजता आउने र क्षेत्रीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । लामो समयपछि पुनः सुरु भएको यो आयोजना समयमै सम्पन्न भएमा ग्रामीण भेगको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।



