खिङ्गामा ‘धछ्याङ’ पर्वको रौनक

मुस्ताङ – वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ खिङ्गागाउँमा परम्परागत धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ शुक्रबारदेखि सुरु भएको छ । हिउँदयामको बिदाइ तथा बर्खायामको स्वागतका रूपमा मनाइने यो पर्व सोमबारसम्म चार दिनसम्म सञ्चालन हुनेछ ।

हिमाली जिल्ला मुस्ताङ जिल्ला को जोमसोमभन्दा माथिल्लो क्षेत्रमा बसोबास गर्ने गुरुङ र विष्ट समुदायमा ‘धछ्याङ’ पर्व मनाउने परम्परा रहिआएको छ। वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका स्थानीयहरूले हरेक वर्ष यो पर्व हर्षोल्लासका साथ मनाउने गर्छन् ।
स्थानीय भाषाअनुसार ‘ध’ को अर्थ धनुषवाण (तारा) र ‘छ्याङ’ को अर्थ झाङ अर्थात् घरेलु पेय पदार्थ बुझिन्छ । खिङ्गागाउँका मुखिया ल्हाक्पा टसी गुरुङका अनुसार पर्वमा सहभागीहरूले घरेलु मदिरा सेवन गर्दै धनुषवाण हान्ने खेल खेल्ने भएकाले यसलाई ‘धछ्याङ’ पर्व भनिएको हो ।
यस वर्ष खिङ्गागाउँसँगै पुराङ र रानीपौवामा पनि एकैसाथ धछ्याङ पर्व मनाइँदै छ भने अघिल्लो साता लुप्रा र झारकोट गाउँमा यो पर्व सम्पन्न भइसकेको छ ।

वडाध्यक्ष प्रमेश गुरुङका अनुसार ‘धछ्याङ’ केवल झाङ सेवन र खेलकुदमा सीमित नभई हिउँदयाम सकिएर बर्खायाम सुरु भएको सूचकका रूपमा मनाइने पर्व हो । वसन्त ऋतुको आगमनसँगै मनाइने यस पर्वमा स्थानीयहरूले विश्व शान्तिको कामना गर्दै राम्रो खेतीपाती होस्, प्राकृतिक विपद् नहोस् र रोगव्याधि नलागोस् भन्ने कामनासहित विशेष पूजा–आराधना गर्ने प्रचलन छ ।

सदियौँदेखि चलिआएको यस पर्वले स्थानीय धर्मसंस्कृति र मौलिकता झल्काउँछ । पर्वका अवसरमा स्थानीयहरू परम्परागत पोशाक र गहनामा सजिएर सहभागी हुने गर्छन् भने स्याब्रो नाच र स्थानीय गीतले गाउँमा उत्सवमय वातावरण सिर्जना गर्छ ।

तर पछिल्लो समय युवापुस्ता विदेश पलायन हुने क्रम बढ्दै जाँदा यस्ता परम्परागत संस्कृतिको संरक्षणमा चुनौती थपिएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् । खिङ्गागाउँमा हाल ३२ घरपरिवारको बसोबास रहेको छ, जहाँका बासिन्दाको मुख्य आयस्रोत कृषि र पशुपालन हो भने केहीले होटल व्यवसायसमेत सञ्चालन गरेका छन् ।

धछ्याङ पर्वमा गाउँका १८ वर्षभन्दा माथिका सबै सदस्यको अनिवार्य सहभागिता रहने प्रचलन छ । सहभागी नहुनेलाई गाउँको निर्णयअनुसार जरिवाना तिराउने चलनसमेत रहेको छ। पर्व अवधिभर गाउँको समाजघरमा भेला भई सामूहिक रूपमा पर्व मनाउने परम्परा कायम छ ।