काठमाडौं – छ लेनमा विस्तार भइरहेको अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक निर्माणमा भएको ढिलासुस्तीबारे जनप्रतिनिधिले चासो व्यक्त गरेका छन् ।
आइतबार बनेपा नगरपालिका कार्यालयमा आयोजित छलफलमा जनप्रतिनिधि, आयोजना प्रमुख तथा निर्माण व्यवसायीसँग सडक निर्माणको प्रगतिबारे समीक्षा गरिएको हो। छलफलमा वर्षायामअघि नै सडकलाई यात्रुका लागि सहज बनाउने गरी काम तीव्र बनाउनुपर्नेमा जोड दिइएको थियो ।
बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा भएको छलफलमा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, नगरउपप्रमुख विमला दाहाल, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, आयोजना प्रमुख तथा ठेकेदार कम्पनीका प्रतिनिधिहरू सहभागी थिए ।
छलफलमा धुलिखेल–सूर्यविनायक सडक आयोजनाअन्तर्गत बनेपा नगरक्षेत्रभित्रका सर्भिस लेन तथा सहायक सडकहरू अवरोधरहित रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता आयोजना र निर्माण कम्पनीले जनाएका छन्।
त्यसैगरी बनेपास्थित पुण्यमाता खोला पुल तथा भैँसीपाटी खोला पुल निर्माणका क्रममा अवरुद्ध भएका सर्भिस लेन र सहायक मार्ग तत्काल सञ्चालनमा ल्याउने सहमति भएको छ। पुलबजार क्षेत्रमा पुण्यमाता खोलाबाट हुने डुबान रोक्न खोला गहिर्याउने, सरसफाइ गर्ने तथा संरक्षणका काम अघि बढाइने जनाइएको छ ।
मन्त्री बादेले यात्रुलाई कुनै पनि हालतमा असहजता हुन नदिन निर्देशन दिँदै मुख्य लेनमा तत्काल कालोपत्र सम्भव नभए पनि सर्भिस ट्र्याक सञ्चालनमा अवरोध हुन नहुने बताइन् । उनले विभिन्न बहाना बनाएर निर्माण कम्पनी कामबाट पन्छिन खोजेको भन्दै असन्तोष व्यक्त गरिन् । सडक अव्यवस्थित हुँदा भएका दुर्घटनामा दुई जनाको ज्यान जाँदासमेत आयोजना गम्भीर नभएको भन्दै उनले आलोचना गरिन् ।
आयोजनाप्रमुख विजय महतोले समग्र भौतिक प्रगति ७० प्रतिशत पुगेको जानकारी दिँदै आगामी असार मसान्तसम्म मुख्य लेन कालोपत्र गरिसक्ने लक्ष्य रहेको बताए । उनका अनुसार बिटुमिन अभावका कारण काम केही ढिला भए पनि आवश्यक सामग्री उपलब्ध गराउन विभिन्न तहमा पहल भइरहेको छ।
भक्तपुर–धुलिखेल सडकखण्डअन्तर्गत निर्माणाधीन तीनवटा पुल निर्माणका लागि निर्माण कम्पनीसँग थप समन्वय भइरहेको उनले जानकारी दिए ।
करिब तीन वर्षअघि सुरु भएको १५.८ किलोमिटर सडक विस्तार आयोजनाको काम पछिल्ला दुई महिनादेखि सुस्त बनेको छ। निर्माण कम्पनीहरूले मूल्यवृद्धि, निर्माण सामग्री अभाव तथा बजारको असहज अवस्थाका कारण कामको गति घटेको बताएका छन् ।
ठेक्का लिएको लामा कन्स्ट्रक्सन प्रालि का प्रबन्धक रवीन्द्र श्रेष्ठ ले निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेकाले र आवश्यक सामग्री सहज रूपमा उपलब्ध नभएकाले काम प्रभावित भएको बताए । उनका अनुसार काम पूर्ण रूपमा बन्द नभए पनि पहिलेको जस्तो तीव्र गतिमा सञ्चालन गर्न कठिन भइरहेको छ ।
भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगासम्मको खण्डमा हालसम्म ४८ प्रतिशत मात्रै काम सम्पन्न भएको जनाइएको छ।
आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि २०७९ मङ्सिर २७ गते सम्झौता भएको थियो। चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँ लागतको उक्त आयोजना लामा कन्स्ट्रक्सन प्रालि ले निर्माण गरिरहेको छ । आयोजनाको म्याद २०८२ मङ्सिर २५ गते सकिएको भए पनि हालसम्म करिब ६० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
त्यस्तै, सूर्यविनायक–साँगा ७.५ किलोमिटर सडक विस्तारका लागि तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो। उक्त खण्डको म्याद गत पुसमै सकिएपछि थप एक वर्षका लागि म्याद थप गरिएको छ । हाल साँगामा ‘अन्डरपास’ निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ ।



