ओली र भण्डारीबीच गुण्डुमा दुई घण्टा लामो छलफल, एमाले पुनर्गठनबारे चर्चा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चलिरहेका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओली बीच आइतबार दुई घण्टाभन्दा लामो छलफल भएको छ।

गुण्डुस्थित निवास पुगेकी भण्डारीले पत्थरीको शल्यक्रियापछि आराम गरिरहेका ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको बताइएको छ। ओली अस्पतालमा रहेका बेला पनि भण्डारीले भेट गर्नुभएको थियो।

एमालेमा पुनः सक्रिय हुन चाहना व्यक्त गर्दै आएकी भण्डारी अहिले पार्टी सदस्यता स्थगनको अवस्थामा रहेकी छन्। त्यसबीच पनि उहाँले एमालेको विकास र विस्तारमा आफ्नो क्षमता प्रयोग गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको छ।

एमालेभित्र नेतृत्व परिवर्तनको बहस तीव्र भइरहेका बेला केही नेताहरूले अध्यक्ष ओलीलाई राजीनामा गराएर पार्टी पुनर्गठन गर्नुपर्ने धारणा अघि सारिरहेका छन्। सोही क्रममा उनीहरूले भण्डारीसँग पनि पटक–पटक छलफल गर्दै आएको बताइएको छ।

आइतबारको भेटमा एमालेभित्र विकसित पछिल्लो राजनीतिक अवस्था, पार्टीभित्र भइरहेका भेला तथा नेताहरूका अभियानबारे पनि समीक्षा भएको भण्डारीनिकट स्रोतले जनाएको छ।

पछिल्लो समय ओली र भण्डारीबीच केही चिसिएको सम्बन्धमा सुधार आएको चर्चा पनि एमाले वृत्तमा भइरहेको छ।

एमालेमा ओलीपछि वैकल्पिक नेतृत्वबारे बहस भइरहेका बेला केही नेताहरूले वर्तमान पदाधिकारीमध्ये स्पष्ट विकल्प नदेखिएको भन्दै अन्तरिम अवधिका लागि भए पनि भण्डारीको नेतृत्वमा पार्टी पुनर्गठन गर्नुपर्ने धारणा राख्दै आएका छन्।

भण्डारी स्वयं पनि एकपटक एमालेको नेतृत्व सम्हाल्न इच्छुक रहेको चर्चा छ। तर त्यसका लागि अध्यक्ष ओलीकै प्रस्ताव र समर्थन आवश्यक हुने आकलनसहित उहाँले पछिल्लो समय ओलीसँग भेटघाट र छलफललाई बाक्लो बनाएको अनुमान गरिएको छ।