काठमाडौं – संविधान संशोधनको बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न जेनजी अभियन्तासँग छलफल गरेपछि जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले कार्यदलका अध्यक्ष असिम शाहमाथि कडा टिप्पणी गरेका छन् ।
कार्यदलले हिजो केही जेनजी अभियन्तालाई बोलाएर छलफल गरेको भए पनि आफूलाई निमन्त्रणा नगरिएको भन्दै ढुंगानाले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक प्रतिक्रिया दिएका हुन् ।
असिम शाहलाई ‘डाइरेक्टर साब’ भनेर सम्बोधन गर्दै उनले आफूलाई छलफलमा नबोलाइएकोमा व्यंग्य गर्दै धन्यवाद दिएका छन् ।
ढुंगानाले लेखेका छन्, “डाइरेक्टर साबको यो कार्यदलमा छलफल गर्न म नगएकै उत्तम हो । डाइरेक्टर साबले मेरो फलानो फिल्मको जस्तो मसालेदार संविधान बनाउनु पर्छ भन्नुभयो भने म सुन्न सक्दिनँ होला ।”
प्रधानन्यायाधीश छनोटमा ‘विज्ञता र क्षमता’ को परिभाषा गलत ढंगले व्याख्या गरिएको भन्दै उनले कटाक्ष गरेका छन् । “धेरै मुद्दा सुनेकोलाई मात्रै विज्ञ र क्षमतावान मान्ने हो भने न्यायिक प्रक्रियामा सुधार गर्ने र नयाँ अभ्यास सुरु गर्ने व्यक्तिहरू कहाँ पर्छन् ?” भन्ने प्रश्न उनले उठाएका छन् ।
संविधान संशोधन समितिको नेतृत्व चयन प्रक्रियामाथि पनि उनले प्रश्न उठाएका छन् । “एक–से–एक संविधानविद् हुँदाहुँदै हाम्रो डाइरेक्टर साब सबैभन्दा योग्य र क्षमतावान पात्र बन्नुभयो,” भन्दै उनले सरकारको ‘योग्यता र विज्ञता’ को परिभाषा नै ‘हट्के’ रहेको टिप्पणी गरेका छन् ।
ढुंगानाले व्यंग्यात्मक शैलीमा मुटुको शल्यक्रियाको उदाहरण दिँदै विशेषज्ञता आवश्यक पर्ने विषयमा असम्बन्धित व्यक्तिलाई जिम्मेवारी दिँदाको परिणामबारे पनि टिप्पणी गरेका छन् । “मुटुको सर्जरी प्लम्बरले गर्ने हो भने परिणाम के होला ?” उनले लेखेका छन् ।
अन्त्यमा उनले ‘खरानी ग्याङ’ उल्लेख गर्दै भविष्यमा त्यस्ता समूह दोहोरिन नदिने तथा हाल सक्रिय समूहलाई पनि कारबाहीको दायरामा ल्याउने खालको संविधान बनाउन आग्रह गरेका छन् ।



