मानसरोवर यात्राको चहलपहल बढ्यो, चार दिनमै १६९ तीर्थयात्री सिमकोट पुगे

हुम्ला – वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शनका लागि जाने भारतीय धार्मिक पर्यटकको चहलपहल हुम्लाको सिमकोटमा बढ्न थालेको छ ।

नेपालगन्ज–सिमकोट–हिल्सा मार्ग हुँदै चीनको मानसरोवर कैलाश पर्वततर्फ जाने तीर्थयात्रीको आगमन सुरु भएको चार दिनमै १६९ जना सिमकोट आइपुगेका छन् ।

सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहका अनुसार वैशाख ३० गतेदेखि हालसम्म १४७ भारतीय र २२ अन्य देशका नागरिक गरी १६९ जना तीर्थयात्री सिमकोट पुगेका हुन् ।

प्रतिकूल मौसमका बाबजुद शनिबार मात्रै समिट एयरले तीन उडानमार्फत ४७ जना तीर्थयात्री सिमकोट ल्याएको छ ।

तर, आज आएका २३ भारतीय तीर्थयात्रीले कैलाश मानसरोवर यात्राका लागि आवश्यक परमिट नपाउँदा सिमकोटमै बस्नुपरेको छ । गत चैत २१ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले परमिट प्रक्रिया ढिलाइ भएको जनाइएको छ ।

स्थानीय प्रशासनका अनुसार तीर्थयात्रीको आगमन प्रारम्भिक चरणमै उल्लेख्य देखिएकाले यस वर्ष पर्यटक सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको छ ।

विसं २०७२ को भूकम्पपछि हिल्सा नाका हुँदै भारतीय पर्यटकले मानसरोवर यात्रा गर्न थालेका थिए । कोरोना महामारीका बेला नाका बन्द भएपछि केही वर्ष यात्रा अवरुद्ध बनेको थियो ।

गत वर्ष चीन सरकारले पुनः हिल्सा नाका भएर भारतीय पर्यटकलाई मानसरोवर यात्रा गर्न अनुमति दिएपछि चार महिनामै करिब ६ हजार ५०० भारतीय तीर्थयात्रीले उक्त धार्मिक यात्रा गरेका थिए ।

यस वर्षको यात्रा सिजनमा भने वैशाख ३० गते पहिलो टोली सिमकोट आइपुगेको थियो ।