तीन जिल्लामा बस्ती संरक्षणदेखि सिँचाइ योजनासम्मका १२ करोडका १७ योजना

काठमाडौं – सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरा अन्तर्गत म्याग्दी, मुस्ताङ र पर्वत जिल्लामा चालु आर्थिक वर्ष २०८२/८३ मा करिब रु १२ करोड लागतका १७ वटा सिँचाइ तथा संरक्षण आयोजना कार्यान्वयन भइरहेका छन् ।

आयोजना कार्यालयका अनुसार पर्वतमा ३, म्याग्दीमा ४ र मुस्ताङमा १० गरी कुल १७ योजनाका लागि विभिन्न निर्माण कम्पनीसँग रु ११ करोड ९३ लाख ७३ हजार ७४३ बराबरको ठेक्का सम्झौता गरिएको हो । यी सबै सम्झौता विसं २०८२ माघ, फागुन र चैत महिनामा सम्पन्न भएका हुन् ।

आयोजना इन्जिनियर नरजङ्ग गुरुङका अनुसार सबै योजनाहरू चालु आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित कार्यान्वयन अघि बढाइएको छ । उहाँले ठेक्का सम्झौता गरेका सबै निर्माण व्यवसायीहरू कार्यक्षेत्रमा परिचालित भइसकेको र काम तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए ।

उनले भने, “आगामी असार १९ गतेसम्म म्याद भएका सबै योजनाको निर्माण कार्य धमाधम भइरहेको छ ।”

म्याग्दीका प्रमुख आयोजना

म्याग्दी जिल्ला अन्तर्गत विभिन्न संरक्षण योजनाहरूमा ठूलो लगानी गरिएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाममा पहिरो नियन्त्रणका लागि रु २ करोड २५ लाख ६९ हजार ९२९ को ठेक्का सम्झौता भएको छ ।

त्यस्तै, बेनी नगरपालिका–७ मङ्गलाघाट बस्ती संरक्षण योजनाका लागि रु ९९ लाख १९ हजार २९५ विनियोजन गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानामा घट्टेखोला संरक्षण योजना (रु ८७ लाख ४४ हजार ९८२) र अन्नपूर्ण–४ घराप बस्ती संरक्षण योजना (रु १ करोड ९ लाख १६ हजार ७६०) पनि कार्यान्वयन चरणमा छन् ।

मुस्ताङमा बस्ती संरक्षण र सिँचाइ योजना

मुस्ताङ जिल्ला मा कागबेनी बस्ती संरक्षण योजनाका लागि रु १ करोड ९१ लाख ४३ हजार ६९९ मा ठेक्का सम्झौता गरिएको छ । साथै लार्जुङखोला संरक्षण (रु ७८ लाख ४४ हजार ९८२), लुप्रा गाउँ संरक्षण (रु २६ लाख ८२ हजार ४५) र तिरिगाउँ स्याउ बगैँचा संरक्षण (रु २५ लाख ९७ हजार १०३) योजना पनि अघि बढाइएको छ ।

यसैगरी घरपझोङ गाउँपालिकाअन्तर्गत मार्फा, फल्याक, झोङ, ढाकारजुङ, झोङ–फल्याक, छुसाङ र झारकोट क्षेत्रमा सिँचाइ योजना सञ्चालनमा छन् ।

पर्वतमा बहुउद्देश्यीय र सिँचाइ आयोजना

पर्वत जिल्ला मा फलेवास नगरपालिका–३ लमायखोलामा बहुउद्देश्यीय तलाउ निर्माणका लागि रु ३२ लाख ३५ हजार ९३९ को ठेक्का सम्झौता भएको छ ।

त्यस्तै, कुश्मा नगरपालिका–१० उपल्लो बिर्ता माझीको खोला सिँचाइ योजना (रु १५ लाख ५२ हजार ५७५) र जलजला गाउँपालिका–७ मिलनचोकमा लुङ्दीखोला संरक्षण योजना (रु ९१ लाख ७८ हजार ९२०) कार्यान्वयनमा रहेका छन् ।

आयोजना कार्यालयका अनुसार सबै योजनाले पहिरो नियन्त्रण, बस्ती संरक्षण र सिँचाइ सुधारमार्फत स्थानीयस्तरमा दीर्घकालीन लाभ पुर्‍याउने अपेक्षा गरिएको छ ।