पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

कास्की – पोखरा महानगरपालिका लामो समयदेखिको प्रयासपछि फिर्के खोलाको अतिक्रमण हटाउन सफल भएको छ । बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाघर खाली गर्ने अभियान आइतबारदेखि सुरु गरिएको हो ।

फिर्के खोलाको अतिक्रमण हटाउने योजना अघिल्लो कार्यकालमै अघि बढाइएको थियो । तत्कालीन प्रमुख मानबहादुर जिसीले डोजर चलाएर अभियान सुरु गर्नुभएको भए पनि स्थानीयको विरोध र न्यायालयसम्म पुगेको विवादका कारण काम रोकिएको थियो ।

यसपटक भने सङ्घीय सरकारको समेत साथ पाएपछि महानगरले अभियानलाई पुनः अघि बढाएको हो । पहिलो दिन खोलाघरमा रहेका संरचना हटाउने कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको महानगरले जनाएको छ ।

महानगरका अनुसार फिर्के खोलाघर क्षेत्रमा निजी तथा व्यक्तिगततर्फ ३५ स्थायी र ९७ अस्थायी संरचना रहेका छन् । यस्तै संस्थागततर्फ १८ स्थायी र १० अस्थायी संरचना निर्माण गरिएका छन् । महानगरले अतिक्रमण हटाउने कार्यलाई निरन्तर अभियानका रूपमा अघि बढाइने जनाएको छ ।

स्थानीयवासीले खोलाघर खाली गराउने कार्यमा सहयोग जनाए पनि छ मिटर मापदण्डलाई भने अव्यवहारिक र अस्वाभाविक भएको भन्दै विरोध गरेका छन् । फिर्के क्षेत्रका नागरिकले वैज्ञानिक आधारबिनाको मापदण्ड लागू गरिएको गुनासो गरेका छन् ।

फिर्के खोलाघर खाली भएपछि महानगरले महत्वाकाङ्क्षी ‘फिर्के करिडोर परियोजना’ सुरु गर्ने तयारी गरेको छ । महानगरका प्रमुख धनराज आचार्यका अनुसार परियोजनाले पोखरालाई “हरित, स्वच्छ, आधुनिक र विश्वस्तरीय नदी–करिडोर सहर”का रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।

उहाँका अनुसार फिर्के खोलाको दायाँ–बायाँ कम्तीमा छ मिटर क्षेत्र कायम गरी व्यवस्थित फुटट्रेल, सुरक्षित साइकल लेन, ‘मर्निङ’ तथा ‘इभिनिङ’ वाकका लागि पदमार्ग निर्माण गरिनेछ । साथै खोलाको प्राकृतिक बहाव संरक्षण गर्दै हरियाली बेल्ट, रैथाने बोटबिरुवा, ढुङ्गे तटबन्ध, स्मार्ट एलइडी बत्ती तथा वातावरणमैत्री सार्वजनिक खुला क्षेत्र विकास गरिने योजना छ ।

महानगरले करिडोर क्षेत्रमा पोखरेली शैलीका विश्रामस्थल, कफी पोइन्ट, खुला क्याफे, सेल्फी पोइन्ट, दृश्यावलोकनस्थल, साना पार्क, चौतारी तथा सांस्कृतिक संरचना निर्माण गर्ने योजना अघि सारेको छ । बालमैत्री र ज्येष्ठ नागरिकमैत्री खुला क्षेत्रसमेत निर्माण गरिने बताइएको छ ।

“फिर्के करिडोरलाई केवल हिँड्ने बाटो नभई जीवनशैली र मनोरञ्जनको सार्वजनिक गन्तव्य बनाउनेछौँ,” प्रमुख आचार्यले भने, “यो भविष्यको पोखराको नयाँ सहरी पहिचान बन्नेछ, जहाँ प्रकृति, पर्यटन, आधुनिक पूर्वाधार र नागरिक जीवनशैलीको सुन्दर सङ्गम हुनेछ ।”

पोखरा–१८ अधेरिकुनादेखि वडा नं २, ४, ५, ७, ८ र १७ हुँदै वडा नं ६ स्थित पर्यटकीय गन्तव्य फेवातालको गाईघाटसम्म फैलिएको फिर्के खोला करिब आठ किलोमिटर लामो रहेको छ ।