पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति, सडक सञ्जाल ३६ हजार किलोमिटर नाघ्यो

काठमाडौँ — मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक पूर्वाधार, यातायात तथा सञ्चार क्षेत्रमा पछिल्ला वर्षमा उल्लेखनीय प्रगति भएको देखिएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ ले सडक सञ्जाल विस्तार, राष्ट्रिय गौरवका आयोजनाको प्रगति तथा डिजिटल पहुँचमा सुधार भएको उल्लेख गरेको हो।

सर्वेक्षणअनुसार सङ्घीय सरकारबाट निर्मित कालोपत्रे सडकको घनत्व १३८.७ मिटर प्रतिवर्ग किलोमिटर पुगेको छ। त्यस्तै, डिजिटल टेलिभिजनको पहुँच ८२ प्रतिशत घरधुरीसम्म पुगेको छ भने मोबाइल टेलिफोन ग्राहक घनत्व जनसङ्ख्याको १०३.२ प्रतिशत पुगेको छ।

विसं २०८२ फागुनसम्म रणनीतिक तथा स्थानीय सडक सञ्जाल गरी कुल ३६ हजार ८०६ किलोमिटर सडक निर्माण भएको छ। यसमध्ये २० हजार ४५६ किलोमिटर कालोपत्रे, सात हजार ६०२ किलोमिटर ग्राभेल तथा आठ हजार ७४८ किलोमिटर कच्ची सडक रहेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल सडक लम्बाइ ३६ हजार २२६ किलोमिटर रहेको थियो।

आर्थिक वर्ष २०८१/८२ मा ३०१ किलोमिटर नयाँ कच्ची सडक निर्माण गरिएको थियो भने एक हजार २३५ किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति गरिएको थियो। चालु आर्थिक वर्षको फागुनसम्म ७६ किलोमिटर नयाँ सडक निर्माण, ४१३ किलोमिटर सडक स्तरोन्नति तथा १०२ वटा पुल निर्माण सम्पन्न भएका छन्।

राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा एक हजार ८७९ किलोमिटर सडक लम्बाइमध्ये एक हजार ५२९ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ। १३७ पुलमध्ये ११४ पुल निर्माण सम्पन्न भएका छन्।

हुलाकी लोकमार्गमा पनि निर्माण कार्यले गति लिएको छ। एक हजार ८५७ किलोमिटर सडक लम्बाइमध्ये एक हजार ३८१ किलोमिटर सडक कालोपत्रे भएको छ भने २५० पुलमध्ये १४३ पुल निर्माण सम्पन्न भएका छन्।

उत्तर–दक्षिण लोकमार्गअन्तर्गत कालीगण्डकी कोरिडोरमा २९२ किलोमिटर सडक कालोपत्रे भएको छ भने ३६ पुल निर्माण सम्पन्न भएका छन्। कर्णाली कोरिडोरमा सम्पूर्ण ट्रयाक निर्माण सम्पन्न भई ४१.५ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ।

कोशी कोरिडोरअन्तर्गत थप १४ किलोमिटर सडक कालोपत्रे तथा ११ पुल निर्माण सम्पन्न भएका छन्। मदन भण्डारी राजमार्गमा ७४० किलोमिटरमध्ये ३९५.५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

ठूला सडक आयोजनातर्फ नारायणघाट–बुटवल सडकखण्डमा ९५.५ किलोमिटर चार लेन सडक निर्माण सम्पन्न भएको छ भने मुग्लिन–पोखरा सडकखण्डमा ७८.४ किलोमिटर चार लेन सडकमा पहिलो तहको कालोपत्रे कार्य सकिएको छ।

सुरुङमार्ग निर्माणतर्फ सिद्धबाबा सुरुङमार्गमा मुख्य सुरुङको एक हजार १२६ मिटर कङ्क्रिट लाइनिङको काम सम्पन्न भएको छ। नागढुङ्गा सुरुङमार्गमा टनेल संरचना निर्माण पूरा भइसकेको छ भने प्रकाश, भेन्टिलेसन, अग्नि नियन्त्रण तथा सूचना प्रणाली जडानको काम पनि सम्पन्न भएको छ।

काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत निर्माणाधीन सातवटै सुरुङको काम जारी रहेको छ। पुल निर्माणका विभिन्न संरचनात्मक कामसमेत भइरहेको सर्वेक्षणले जनाएको छ।

यद्यपि, पूर्वाधार निर्माणको विस्तारसँगै सडकको गुणस्तर, समयमै आयोजना सम्पन्न गर्ने क्षमता, सडक सुरक्षा तथा दीर्घकालीन दिगोपनामा अझै ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ।