काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै यस वर्षको बजेट संरचनामा विकास, पूर्वाधार र वित्तीय सुधारलाई प्राथमिकता दिइएको बताए।
बजेट अनुसार चालु खर्चका लागि १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगत (विकास) खर्चतर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको छ। वित्तीय व्यवस्थापनका लागि ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
सरकारले आगामी वर्ष १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। त्यसैगरी वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ र वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
बजेटको बाँकी हिस्सा आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ उठाइने सरकारको योजना छ।
अर्थमन्त्री वाग्लेले बजेटलाई अर्थतन्त्रको संरचनात्मक सुधार, पूर्वाधार विस्तार, डिजिटल रूपान्तरण र उत्पादनमुखी विकासतर्फ उन्मुख गर्ने नीति अनुसार तयार गरिएको बताएका छन्।



