यी वस्तुमा बढ्यो अन्तःशुल्क

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत विभिन्न वस्तुमा लाग्दै आएको अन्तःशुल्क दरमा व्यापक हेरफेर गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ३६० प्रकारका वस्तुमा लाग्दै आएको अन्तःशुल्क पूर्ण रूपमा खारेज गरिएको जानकारी दिनुभएको छ।

यद्यपि मदिरा, सुर्तीजन्य पदार्थ, जङ्क फुड, इनर्जी ड्रिङ्क, हल्का पेय पदार्थ, जुस तथा रङरोगनसम्बन्धी सामग्रीमा भने अन्तःशुल्क वृद्धि गरिएको छ।

विधेयकअनुसार गुड तथा सख्खर भेलीको अन्तःशुल्क प्रतिक्विन्टल रु १३८ बाट बढाएर रु १४० र उखुको खुदोको अन्तःशुल्क रु ११० बाट बढाएर रु ११५ पुर्‍याइएको छ। स्पागेटी, म्याकरोनी र पास्ताजस्ता खाद्यवस्तुमा प्रतिकिलो रु २० लाग्दै आएको अन्तःशुल्क बढाएर रु ३५ कायम गरिएको छ।

त्यस्तै, कुरकुरे, कुरमुरे, लेज, चिजबललगायतका तयारी खाद्य पदार्थमा प्रतिकिलो रु २० लाग्दै आएको अन्तःशुल्क बढाएर रु ७५ पुर्‍याइएको छ। आलु चिप्समा प्रतिकिलो रु १८ रहेको अन्तःशुल्क अब रु ३० पुगेको छ।

फलफूलजन्य जुसमा पनि कर वृद्धि गरिएको छ। सुन्तला, स्याउ, आँप, अङ्गुर, भुँइकटहर र गोलभेँडालगायतका जुसमा प्रतिलिटर रु १३.५० रहेको अन्तःशुल्क बढाएर रु १४ कायम गरिएको छ।

सुर्तीरहित पान मसालामा प्रतिकिलो रु ८७५ लाग्दै आएको अन्तःशुल्क बढाएर रु एक हजार १५० तथा सुर्तीरहित सुगन्धित सुपारीमा प्रतिकिलो रु ३७५ बाट बढाएर रु ५०० पुर्‍याइएको छ।

पेय पदार्थतर्फ अल्कोहलरहित बियरको अन्तःशुल्क प्रतिलिटर रु ४५ बाट दोब्बर गरी रु ९० बनाइएको छ। इनर्जी ड्रिङ्कमा प्रतिलिटर रु ५२ लाग्दै आएको अन्तःशुल्क बढाएर रु १२० तथा हल्का पेय पदार्थमा रु २५ बाट बढाएर रु ६० कायम गरिएको छ।

मदिराजन्य पदार्थमा पनि अन्तःशुल्क वृद्धि गरिएको छ। पाँच प्रतिशतसम्म अल्कोहल भएको बियरमा प्रतिलिटर रु २४० बाट रु २५५, १२ देखि १७ प्रतिशतसम्म अल्कोहल भएको वाइनमा रु ४६० बाट रु ४९० र १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको वाइनमा रु ५३५ बाट रु ५७० पुर्‍याइएको छ। छ्याङ (कन्ट्री बियर) मा प्रतिलिटर रु ४८ बाट रु ५० कायम गरिएको छ।

यद्यपि सेम्पेन, सेरी, मिड, पेरी साइडरलगायतका केही मदिराजन्य पेय पदार्थमा अन्तःशुल्क घटाइएको छ। यस्ता पेय पदार्थमा प्रतिलिटर रु ५१६ रहेको अन्तःशुल्क घटाएर रु ४९० कायम गरिएको छ।

सुर्तीजन्य वस्तुमा पनि कर बढाइएको छ। सुर्ती भएका सिगार, सेरुट तथा साना सिगारमा प्रति खिल्ली रु ३१ बाट बढाएर रु ३५ अन्तःशुल्क निर्धारण गरिएको छ। फिल्टर नभएको चुरोटमा प्रति हजार खिल्ली रु ७७८ बाट रु ७८० तथा फिल्टरयुक्त ७० मिलिमिटरसम्मका चुरोटमा रु एक हजार ७९२ बाट बढाएर रु एक हजार ८४५ कायम गरिएको छ।

निर्माण तथा सजावटसँग सम्बन्धित सामग्रीमा समेत अन्तःशुल्क वृद्धि गरिएको छ। पेन्ट, इनामेल तथा सडकमा प्रयोग हुने थर्मोप्लास्टिक पेन्टमा प्रतिकिलो रु ७ बाट बढाएर रु १५ तथा फ्लोर कभरिङ सामग्रीमा रु १० बाट बढाएर रु १५ अन्तःशुल्क लगाइएको छ।

सरकारले स्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा विलासी उपभोगका वस्तुमा कर बढाएर राजस्व संकलन र उपभोग नियन्त्रण गर्ने नीति लिएको देखिएको छ भने केही वस्तुमा अन्तःशुल्क हटाएर उद्योग तथा व्यापार क्षेत्रलाई राहत दिने प्रयास गरेको जनाएको छ।