बागलुङ — राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत मालढुङ्गा–बलेवा खण्ड समयमै कालोपत्र नहुँदा यात्रीहरू समस्यामा परेका छन् । करिडोरको बागलुङ खण्डमा पर्ने कुल ३४ किलोमिटरमध्ये २४ किलोमिटर कालोपत्र भइसके पनि बाँकी १० किलोमिटर अझै अधुरो छ ।
निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक स्तरोन्नति रोकिँदा दक्षिण बागलुङका बासिन्दा तथा मुक्तिनाथ जाने पर्यटकहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
सम्झौता अनुसार यो खण्ड दुई वर्षभित्र कालोपत्र गर्ने गरी पाँच वर्षअघि निर्माण कम्पनीसँग करिब ४८ करोड १२ लाख ५६ हजार ५२३ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । तर पटक–पटक म्याद थपिए पनि काम पूरा हुन सकेको छैन ।
कालीगण्डकी करिडोर आयोजना कार्यालयका इन्जिनियर होमनाथ पौडेल ले चालु आर्थिक वर्षभित्र काम सम्पन्न नगरे कारबाही गरिने चेतावनी दिएका छन् ।
त्यस्तै निर्माण व्यवसायी दिनबन्धु काफ्ले ले भने बजेट अभावका कारण काममा ढिलाइ भएको स्वीकार गर्दै पर्याप्त जनशक्ति र उपकरण परिचालन गरी निर्धारित समयमै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।
स्थानीयले भने लामो समयदेखि अलपत्र परेको सडक छिटो पूरा गर्न माग गर्दै दबाब बढाइरहेका छन्।



