खोटाङ — मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको माम्खामा निर्माणाधीन ग्याबिन वाल (तारजालीसहितको पर्खाल) पुनः भासिएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खामा सडक विस्तारका क्रममा बनाइँदै गरेको पर्खाल काम पूरा नहुँदै दोस्रो पटक भासिएपछि स्थानीय बस्ती थप जोखिममा परेका छन्।
मध्यपहाडी लोकमार्गअन्तर्गतको यस सडकखण्डमा सडक डिभिजन कार्यालय हर्कपुरको ‘हाइवे इम्प्रुभमेन्ट वक्र्स’ कार्यक्रममार्फत निर्माण भइरहेको ग्याबिन वाल यही जेठ १५ गतेदेखि भासिन थालेको स्थानीयले बताएका छन् । निर्माण कम्पनी दोभान निर्माण सेवा, धनकुटाले अन्तिम चरणमा पुर्याएको काममा माटो फिलिङ गर्ने क्रममा पर्खालको बीच भाग भासिएको हो।
ठेकेदार पक्षका अनुसार तारजाली भरेर सडकसम्म अग्लो पर्खाल निर्माण भइसकेको र त्यसमाथि माटो फिलिङ गरेर सम्याउने काम बाँकी रहँदै संरचना भासिएको हो। तर स्थानीयवासीले भने कमजोर जग र प्राविधिक कमजोरीका कारण समस्या दोहोरिएको आरोप लगाएका छन्।
यसअघि पनि सोही स्थानमा निर्माण गरिएको आरसिसी पर्खाल भासिएर ढल्किएको थियो, जसका कारण सडक अझै साँघुरो अवस्थामा छोडिएको थियो। अहिले पुनः ग्याबिन वाल भासिएपछि तलतिरका घरहरू थप पहिरोको जोखिममा परेका छन्। स्थानीय भीमराज राई, देवेन्द्र राई, हर्कमान राई, लोकेन्द्र राई, हेमराज राई र नरबहादुर राईका घर जोखिममा परेको बताइएको छ। त्यस्तै, मकैबारीहरूमा पनि चिरा देखिएको छ।
स्थानीयका अनुसार भित्तातिरको चट्टान पर्याप्त रूपमा नकाटी सडक विस्तार गरिएको कारण समस्या दीर्घकालीन रूपमा समाधान हुन नसकेको हो । उनीहरूले सडक चौडा बनाउन चट्टान कटान गरी स्थायी तथा सुरक्षित संरचना निर्माण गर्न माग गरेका छन् ।
सडक डिभिजन कार्यालय हर्कपुरका सिनियर डिभिजन इन्जिनियर सविन जोशी नेतृत्वको प्राविधिक टोलीले स्थल निरीक्षण गरेको छ। प्रारम्भिक अध्ययनमा कमजोर भू–बनोट प्रमुख कारण हुन सक्ने देखिएको छ । इन्जिनियर जोशीले उक्त स्थानलाई “असामान्य प्रकृतिको समस्या” भन्दै विस्तृत प्राविधिक प्रतिवेदनपछि मात्र थप निर्णय हुने बताएका छन्।
ठेकेदार कम्पनीका अनुसार प्राविधिक प्रतिवेदन नआएसम्म निर्माण कार्य रोकिएको छ । दोभान निर्माण सेवाले विसं २०८२ मङ्सिर ४ गते ठेक्का सम्झौता गरी वैशाख ६ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि काम ढिला भएपछि असार १५ गतेसम्म म्याद थप गरिएको थियो।
यस योजनाअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा ग्याबिन वाल, प्लम वाललगायतका संरचना निर्माणका लागि करिब २ करोड ७९ लाख ७७ हजार ९१२ रुपैयाँमा ठेक्का लगाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
यसैबीच, सोही सडकखण्डको पङ्खुखोलामा पक्की पुल नहुँदा वर्षायाममा यातायात सेवा बारम्बार अवरुद्ध हुँदै आएको छ। स्थानीय श्रमदाताहरूले काठको पुल निर्माण गरेर अस्थायी रूपमा आवतजावत सहज बनाएका छन्। तर स्थायी पुल नहुँदा समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन ।
सडकखण्डको सेखुवा क्षेत्रमा पर्ने करिब १० किलोमिटर कालोपत्र कार्य पनि वर्षौंदेखि अलपत्र अवस्थामा रहेको छ । विसं २०७२ मा ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण काम अझै पूरा हुन सकेको छैन ।
माम्खा क्षेत्रसहित दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका विभिन्न स्थानमा संरचना पटक–पटक असफल भइरहँदा स्थानीय बस्ती उच्च जोखिममा परेको भन्दै दीर्घकालीन र वैज्ञानिक समाधान आवश्यक रहेको स्थानीयले जोड दिएका छन्।



