काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) लाई क्षेत्रीय सहयोगको एक गतिशील मञ्चका रूपमा वर्णन गर्दै सदस्य राष्ट्रहरूबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने बताएका छन् ।
बिम्स्टेकको २९औँ वार्षिकोत्सवका अवसरमा आज जारी शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले बिम्स्टेकले क्षेत्रको विविधता, जीवन्तता र साझा सम्भावनालाई प्रतिबिम्बित गर्ने उल्लेख गरेका छन्।
उनले यातायात, व्यापार तथा डिजिटल सञ्जालमार्फत सदस्य राष्ट्रहरूबीचको सम्पर्क विस्तार गरी अर्थतन्त्रहरूको अझ गहिरो एकीकरणलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
प्रधानमन्त्री शाहले बिम्स्टेकको वास्तविक शक्ति यसका जनतामा निहित रहेको उल्लेख गर्दै पर्यटन प्रवद्र्धन, युवा तथा उद्यमीहरूका लागि अवसर सिर्जना र जलवायु परिवर्तन तथा प्राकृतिक विपद्बाट उत्पन्न जोखिमसँग जुध्ने क्षमता अभिवृद्धिका लागि थप प्रयास आवश्यक रहेको बताएका छन्।
सन्देशमा उनले एकापसमा जोडिएको, उत्थानशील र समृद्ध बिम्स्टेक क्षेत्र निर्माणका लागि नेपाल सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्न सदैव प्रतिबद्ध रहेको बताएका छन्।
यसै अवसरमा परराष्ट्रमन्त्री शिशिर खनालले पनि छुट्टै शुभकामना सन्देश जारी गर्दै सन् १९९७ मा स्थापना भएदेखि बिम्स्टेकले क्षेत्रीय सहयोगको क्षेत्रमा हासिल गरेको निरन्तर प्रगतिप्रति प्रशंसा व्यक्त गरेका छन्।
उनले क्षेत्रीय सहकार्यलाई संस्थागत बनाउन बिम्स्टेक वडापत्र (चार्टर) को महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै हासिल उपलब्धिलाई थप सुदृढ बनाउन, साझेदारी विस्तार गर्न तथा कार्यान्वयनको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिएका छन्।
परराष्ट्रमन्त्री खनालले बिम्स्टेकप्रतिको नेपालको प्रतिबद्धता पुनः दोहोर्याउँदै जनस्तरको सम्पर्क क्षेत्रको नेतृत्वकर्ता राष्ट्रका रूपमा नेपाल पर्यटन प्रवद्र्धन, सांस्कृतिक आदानप्रदान तथा सदस्य राष्ट्रका नागरिकबीच सम्बन्ध विस्तार गर्न तत्पर रहेको बताएका छन्।
बिम्स्टेकको २९औँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनालले सदस्य राष्ट्रका सरकार तथा जनतालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर भएसँगै स्थापना भएको बिम्स्टेक प्रारम्भमा बिस्ट–इक (बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्यान्ड आर्थिक सहयोग) का रूपमा परिचित थियो। पछि म्यानमार, भुटान र नेपाल सदस्य बनेपछि यो बिम्स्टेकका रूपमा विकसित भएको हो। हाल यस सङ्गठनमा सात सदस्य राष्ट्र आबद्ध छन्।



