बाँकेमा हुलाकी सडक विस्तार हुँदै, ७५ किलोमिटर खण्ड तीन वर्षभित्र सक्ने लक्ष्य

नेपालगञ्ज – बाँके जिल्लामा हुलाकी राजमार्ग विस्तारको काम सुरु गरिएको छ। राप्तीसोनारी गाउँपालिका–३ नारायणपुरदेखि बाँके–दाङ सीमास्थित कुसुमपारी भवानीपुरसम्म सडक विस्तार गर्ने योजना अघि बढाइएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जले जनाएको छ ।

कार्यालय प्रमुख लीलाबहादुर भण्डारीका अनुसार दाङ, बाँके र बर्दिया खण्डअन्तर्गत पर्ने ७५ किलोमिटर सडक विस्तार गर्न लागिएको हो । जसमध्ये करिब ३६ किलोमिटर खण्डमा ट्रयाक खोल्नुपर्ने र करिब २० वटा पुल निर्माण गर्नुपर्नेछ ।

उनका अनुसार दाङतर्फ २२ किलोमिटर सडक र १७ वटा पुल निर्माणका लागि करिब २९ अर्ब रुपैयाँ स्रोत सुनिश्चित भइसकेको छ । उनले अधिकांश खण्डको टेन्डर प्रक्रिया अघि बढिसकेको र परियोजना अन्तर्गत आगामी तीन वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए ।

निर्देशनालयका अनुसार सडक निर्माणका क्रममा करिब १५ किलोमिटर क्षेत्र घना जङ्गल पर्नेछ । उक्त क्षेत्रका लागि वातावरणीय प्रभाव मूल्यांकन र विस्तृत परियोजना प्रतिवेदनको काम सम्पन्न भइसकेको छ । सडकको चौडाइ १२ मिटर रहनेछ भने ९ मिटर अस्फाल्ट प्रविधिमा कालोपत्र गरिनेछ ।

निर्देशनालयले यही असार ३१ गतेसम्म सूचना प्रकाशन गरी असोज महिनादेखि निर्माण कार्य सुरु गर्ने तयारी गरेको छ ।

हुलाकी राजमार्गलाई यस क्षेत्रको प्रमुख विकास मेरुदण्ड र पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रूपमा लिइएको छ । स्थानीय समाजसेवी पोषण केसीले सडक निर्माणले ग्रामीण क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी राप्तीसोनारी गाउँपालिका–१ का अध्यक्ष यमबहादुर खड्काले सडक विस्तारको खबरले स्थानीयमा उत्साह बढेको बताउँदै कृषि उत्पादनको बजारीकरण, शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार हुने अपेक्षा व्यक्त गरेका छन् ।