साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै

काठमाडौं — नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार सुरुङमार्ग सञ्चालनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम तीव्र गतिमा अघि बढाइएको छ ।

आयोजना प्रमुख नेपालले सुरुङमार्ग सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै साउनको तेस्रो सातासम्म सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताउनुभयो। हाल सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क संकलन गर्ने कम्पनीसँग सम्झौता भइसकेको र कर्मचारीलाई तालिम दिने तथा प्राविधिक तयारी भइरहेको उनले बताए ।

सुरुङमार्ग सञ्चालनका क्रममा आपत्कालीन अवस्था, उद्धार प्रक्रिया, प्रकाश (लाइट), भेन्टिलेसन तथा सुरक्षा प्रणालीसम्बन्धी सबै तयारी पूरा गर्न सेवा प्रदायक कम्पनी सक्रिय रहेको छ । चौबिसै घण्टा सञ्चालनका लागि १५० जना कर्मचारी भर्ना गरी सिफ्ट प्रणालीमा परिचालन गरिनेछ ।

आयोजनाको भौतिक प्रगति ९९.५ प्रतिशत र वित्तीय प्रगति ९६ प्रतिशत पुगेको जानकारी दिइएको छ । सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि युसिन–एआरटी जेभीसँग पाँच वर्षका लागि सम्झौता भइसकेको छ । सो कम्पनीले सिभिल संरचना, मेकानिकल, इलेक्ट्रिकल तथा सुरक्षा प्रणालीको नियमित मर्मतसम्भार गर्नेछ ।

मुख्य सुरुङमार्गको लम्बाइ २ हजार ६८८ मिटर रहेको छ भने आपत्कालीन सुरुङ २ हजार ५५७ मिटर लामो छ। सञ्चालनमा आएपछि दैनिक करिब ८ हजार सवारीसाधन सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ ।

सवारी आवागमनबाट वार्षिक करिब रु ३५ करोड टोल शुल्क उठ्ने अनुमान गरिएको छ । त्यसमध्ये वार्षिक रु २२ करोड सेवा प्रदायक कम्पनीलाई भुक्तानी गर्नुपर्ने व्यवस्था छ। बाँकी रकम सडक बोर्ड नेपालमार्फत संकलन हुनेछ ।

यसैबीच राष्ट्रियसभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले सुरुङमार्ग सञ्चालनमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै तत्काल सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरेका छन्। उनीहरूले आयोजनामा संलग्न श्रमिकहरूको सीप उपयोग तथा अन्य पूर्वाधार परियोजनामा अनुभव प्रयोग गर्न पनि सुझाव दिएका छन् ।

समितिका सांसदहरूले आयोजना निर्माण पूरा भइसकेकाले अब ढिलाइ नगरी यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।