कञ्चनपुर — कञ्चनपुरका स्थानीय तहहरू आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट निर्माण प्रक्रियामा तीव्र रूपमा जुटेका छन् । सङ्घीय सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि यहाँका नौवटा स्थानीय तहले वडास्तरबाट योजना छनोट गर्दै बजेट तयारी अघि बढाएका हुन् ।
शुक्लाफाँटा नगरपालिकाले वडास्तरमा बजेटको सिलिङ पठाएर योजना छनोटको काम अन्तिम चरणमा पुर्याएको जनाएको छ । नगर प्रमुख रणबहादुर महराका अनुसार हाल शाखागत रूपमा पनि योजना छनोटको काम भइरहेको छ । उहाँले असार १० गतेभित्र बजेट प्रस्तुत गर्ने लक्ष्यसहित तयारी तीव्र पारिएको जानकारी दिए ।
“कर्मचारीको तलब २१ प्रतिशतले बढ्दा हाम्रो पालिकामा मात्रै करिब तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार थपिएको छ,” उनले भने, चालु आर्थिक वर्षमा शुक्लाफाँटा नगरपालिकाको बजेट ९३ करोड रुपैयाँ रहेको छ । शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट निर्माण भइरहेको उनको भनाइ छ ।
त्यसैगरी, भीमदत्त नगरपालिकाले पनि वडास्तर र विषयगत शाखामा बजेट सिलिङ पठाएर योजना छनोटको काम अघि बढाएको छ । उपप्रमुख निलम लेखकका अनुसार वडाबाट आएका योजनालाई टुङ्गोमा पुर्याएर कार्यपालिकामा पेश गर्ने प्रक्रिया चलिरहेको छ ।
“शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिँदैछ,” उनले भने, जनमुखी योजनालाई प्राथमिकताका साथ समावेश गरिने बताइएको छ ।
बेलौरी नगरपालिकाले पनि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिँदै बजेट निर्माण गरिरहेको जनाएको छ । उपप्रमुख जोगराम चौधरीका अनुसार पुराना तथा अधुरा योजनालाई प्राथमिकीकरण गरेर आगामी बजेटमा समावेश गरिनेछ ।
दोधारा चाँदनी नगरपालिकाले आगामी असार ८ गते नगरसभा गर्ने तयारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र जोशीका अनुसार वडास्तर र विषयगत समितिमा योजना छनोटको काम जारी छ ।
कञ्चनपुरमा रहेका सात नगरपालिका र दुई गाउँपालिका गरी सबै स्थानीय तहहरू समयसीमाभित्र बजेट प्रस्तुत गर्ने तयारीमा सक्रिय रहेका छन् । वडा तहदेखि नै योजना संकलन गरेर स्थानीय आवश्यकता अनुसार बजेट निर्माण भइरहेको जनाइएको छ।



