काठमाडौं – सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफल सुरु हुने भएको छ । सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार विभिन्न मन्त्रालयका बजेट शीर्षकलाई समूहीकृत गरी छलफल गरिनेछ ।
आजको बैठकमा युवा तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालय तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरूले धारणा राख्नेछन् ।
यता, राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल हुने कार्यसूची छ। छलफलका क्रममा सदस्यहरूले उठाएका जिज्ञासा र प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिनुहुने जनाइएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि संसद्को दुवै सदनमा जारी छलफललाई बजेट पारित प्रक्रियाको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।



