सुदूरपश्चिम प्रदेशको बजेट ३७ अर्ब ७० करोड

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशसभाको आइतबार राति ११ः४५ बजे बसेको बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले बजेट प्रस्तुत गरेका हुन् ।

सरकारले आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनका लागि विभिन्न स्रोतबाट राजस्व तथा अनुदान प्राप्त हुने अनुमान गरेको छ । बजेटका अनुसार आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड रुपैयाँ, राजस्व बाँडफाँटबाट १० अर्ब २४ करोड ९२ लाख रुपैयाँ तथा संघीय रोयल्टीबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानस्वरूप ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ, चालु आर्थिक वर्षको बचत रकम ९ अर्ब ६२ करोड रुपैयाँ, सशर्त अनुदान ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ, संघीय समपूरक अनुदान ३८ करोड ३८ लाख रुपैयाँ तथा विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

यद्यपि, आर्थिक मामिलामन्त्री धामीले बजेट प्रस्तुत गर्दै चालु खर्च र पुँजीगत खर्चतर्फ कति रकम विनियोजन गरिएको छ भन्ने विवरण भने सार्वजनिक गरेनन् ।

प्रतिपक्षी दलका सांसदहरूको बहिष्कारका बीच बजेट सार्वजनिक गरिएको हो। बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरूले विरोध जनाएका थिए । सभामुख भीमबहादुर भण्डारीले समय दिएपछि बोल्दै प्रदेशसभा सदस्य मानबहादुर धामीले सरकारले समयमै बजेट ल्याउन नसकेर लाचार अवस्था प्रदर्शन गरेको आरोप लगाए । त्यसपछि प्रतिपक्षी सांसदहरू बैठक बहिष्कार गर्दै बाहिरिएका थिए ।

सत्तारुढ दलभित्रै बजेट बाँडफाँटको विषयमा मतभेद देखिएपछि बजेट सार्वजनिक गर्न ढिलाइ भएको बताइएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।