राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ।

पासपोर्ट खरिद प्रक्रियासँग सम्बन्धित अनुसन्धानका क्रममा अर्याललाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ।

अर्यालसँगै व्यवसायी सिद्धार्थ थापा पनि सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएको सुरक्षा स्रोतले जानकारी दिएको छ। थापा राष्ट्रियसभा सदस्य सुनिल थापाका छोरा हुन्।

अख्तियार सम्बद्ध स्रोतका अनुसार राहदानी खरिदसम्बन्धी विषयमा भइरहेको अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

राहदानी विभागले पछिल्लो समय ठूलो परिमाणमा विद्युतीय राहदानी (ई–पासपोर्ट) खरिद तथा व्यवस्थापनसम्बन्धी प्रक्रिया अघि बढाउँदै आएको थियो। सोही प्रक्रियामा अनियमितता भएको आशंकामा अख्तियारले अनुसन्धान गरिरहेको बताइएको छ।

अख्तियारले अनुसन्धान अघि बढाउँदै आवश्यक प्रमाण संकलन गर्ने काम गरिरहेको जनाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक हुने बताइएको छ।