ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधार बनाइँदैछ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा अघि बढाएको बताएका छन् ।

विनियोजन विधेयक, २०८३ अन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि प्रतिनिधिसभामा उठेका प्रश्न तथा सुझावको जवाफ दिँदै मन्त्री श्रेष्ठले ऊर्जा विकास, प्रसारण पूर्वाधार र सिँचाइ विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

उहाँका अनुसार आगामी आर्थिक वर्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि कुल १ खर्ब १४ अर्ब २ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । जसमध्ये ऊर्जा क्षेत्रमा ७० अर्ब १२ करोड ४६ लाख रुपैयाँ र जलस्रोत तथा सिँचाइ क्षेत्रमा ४३ अर्ब ९० करोड ३६ लाख रुपैयाँ छुट्याइएको छ ।

मन्त्री श्रेष्ठले प्रसारण लाइन र सबस्टेशन निर्माणलाई सरकारले पहिलोपटक उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी वर्षभित्र १३२ केभीका ९ वटा, २२० केभीका २ वटा र नेपाल–भारत अन्तरदेशीय प्रसारण आयोजनासहित १२ वटा रणनीतिक प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए ।

चालु आर्थिक वर्षमा ६६ केभी र त्यसभन्दा माथिका प्रसारण लाइन करिब ७ हजार ४८ सर्किट किलोमिटर पुग्ने तथा आगामी वर्ष थप ८ सय सर्किट किलोमिटर निर्माण हुने अनुमान गरिएको उनले बताए ।

एक वर्षमा १ हजार ४० मेगावाट विद्युत् थप्ने लक्ष्य

सरकारले आगामी आर्थिक वर्षमा ६७० मेगावाट जलविद्युत् र ३७० मेगावाट सौर्य ऊर्जा गरी कुल १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप्ने लक्ष्य राखेको मन्त्री श्रेष्ठले जानकारी दिए ,।

यससँगै नेपालको कुल जडित विद्युत् क्षमता ५ हजार ५३५ मेगावाट पुग्ने उनको भनाइ छ । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट जडित क्षमता पुर्‍याउने लक्ष्य लिएको उनले बताए ।

मन्त्री श्रेष्ठका अनुसार राहुघाट, तनहुँ जलाशययुक्त, माथिल्लो मोदी ए, माथिल्लो मोदी, माथिल्लो त्रिशूली–३ बी, बूढीगंगा लगायतका आयोजनालाई प्राथमिकतामा राखिएको छ । बूढीगण्डकी र दूधकोशी जलाशययुक्त आयोजनाको काम अघि बढाइएको तथा नलगाड आयोजनाको अध्ययन र वित्तीय व्यवस्थाको तयारी भइरहेको उनले जानकारी दएि ।

विद्युत् व्यापारमा निजी क्षेत्रलाई खुला गर्ने तयारी

मन्त्री श्रेष्ठले ऊर्जा व्यापारमा उदारीकरणको नीति लिइएको बताए । निजी क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने र प्रसारण लाइन निर्माण गरी ह्विलिङ चार्ज लिन सक्ने कानुनी व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।

जलाशययुक्त आयोजनामा निजी क्षेत्रलाई ४० प्रतिशतसम्म आईपीओ जारी गर्ने व्यवस्था र ५० वर्षसम्म लाइसेन्स दिने नीति अघि बढाइएको जानकारी दिँदै उहाँले ‘टेक अर पे’ मोडेलमा नयाँ पीपीए तथा १० मेगावाटभन्दा कम क्षमताका आयोजनाको तत्काल पीपीए खुला गरिएको बताए ।

उनले लाइसेन्स ओगटेर आयोजना कब्जा गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिने भन्दै ऊर्जा क्षेत्रमा सुशासन कायम गर्न सरकार कठोर बन्ने स्पष्ट पारे ।

सिँचाइमा १५ हजार ७७६ हेक्टर थप क्षेत्र विस्तार गर्ने लक्ष्य

सिँचाइतर्फ आगामी आर्थिक वर्षका लागि संघतर्फ ३५ अर्ब ९४ करोड ७३ लाख रुपैयाँ र प्रदेशतर्फ ७ अर्ब ९५ करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

आगामी वर्ष थप १५ हजार ७७६ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरी कुल सिञ्चित क्षेत्र ६४ प्रतिशत पुर्‍याउने लक्ष्य रहेको उनले बताए ।

नदी नियन्त्रणतर्फ हालसम्म १ हजार ५२४ किलोमिटर तटबन्ध निर्माण भइसकेको र आगामी वर्ष थप ७० किलोमिटर तटबन्ध निर्माण गरी २१० हेक्टर जग्गा उकास्ने योजना रहेको जानकारी दिए ।

राष्ट्रिय गौरवका भेरी–बबई, सिक्टा, सुनकोशी–मरिन, रानी–जमरा–कुलरिया जस्ता आयोजनालाई प्राथमिकतामा राखिएको भन्दै मन्त्री श्रेष्ठले भूमिगत तथा लिफ्ट सिँचाइ आयोजनालाई समेत अघि बढाइने बताए ।

कर्णाली प्रदेशमा एकीकृत सिँचाइ कार्यक्रमका लागि ९२ करोड २३ लाख रुपैयाँ छुट्याइएको जानकारी दिँदै उनले सदनमा आएका सुझावअनुसार मन्त्रालयले प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले नदीलाई केवल पानीको स्रोत नभई सभ्यता, संस्कृति र पर्यावरणको आधारका रूपमा संरक्षण गर्ने सरकारको नीति रहेको समेत बताए ।