रास्वपा महाधिवेशन : भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन नजिकिँदै जाँदा चितवनको भरतपुरमा राजनीतिक गतिविधि र चहलपहल बढेको छ ।

आगामी असार ७ देखि ९ गतेसम्म भरतपुरमा आयोजना हुने महाधिवेशनका लागि पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरू चितवन आउन सुरु गरेका छन् ।

रास्वपा केन्द्रीय सचिवालय सदस्य दीपकराज बोहराका अनुसार प्रतिनिधि तथा सहभागीहरू आउने क्रम असार ७ गते बिहानसम्म जारी रहनेछ । चितवनको गर्मीलाई ध्यानमा राख्दै सहभागीलाई आवश्यक तयारीसहित आउन सर्कुलर जारी गरिएको उनले बताए ।

महाधिवेशन अवधिमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने भन्दै पार्टीले सकेसम्म कम सवारीसाधन प्रयोग गर्न आग्रह गरेको छ । सहभागीलाई पानी, छाता र हल्का कपडा साथमा ल्याउनसमेत सुझाव दिइएको छ ।

तीन हजारभन्दा बढी प्रतिनिधि, होटल भरिँदै

महाधिवेशनमा तीन हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने र त्यसबाहेक नेता, कार्यकर्ता तथा शुभेच्छुकको ठूलो उपस्थिति रहने रास्वपाले जनाएको छ ।

रास्वपाका केन्द्रीय सदस्य तथा आवास एवं भोजन व्यवस्थापन संयोजक राजन गौतमका अनुसार जिल्ला–जिल्लाबाट नेता तथा कार्यकर्ता चितवन आउने क्रम जारी छ ।

चितवनका होटल तथा आवास व्यवसायीसँग समन्वय गरी सहभागीका लागि सुलभ दर कायम गरिएको र त्यसको जानकारी उपलब्ध गराइएको उनले बताए ।

प्रतिनिधि तथा पर्यवेक्षकमध्ये करिब ८० प्रतिशतले होटल बुकिङ गरिसकेको जानकारी दिँदै गौतमले महाधिवेशन अवधिमा चितवनका ३ हजारभन्दा बढी होटल कोठा भरिने अनुमान गरिएको बताए ।

महाधिवेशनलाई लक्षित गर्दै होटल व्यवसायी सङ्घ चितवन र क्षेत्रीय होटल सङ्घ चितवनले सहभागीका लागि आवासमा २५ प्रतिशतसम्म तथा खाना र पेय पदार्थमा १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छन् ।

घाम र वर्षाबाट जोगिन जर्मन ह्याङ्गर

गर्मी मौसम र सम्भावित वर्षालाई ध्यानमा राख्दै महाधिवेशन स्थलमा विशेष संरचना तयार गरिएको छ ।

भरतपुरको गेस्टहाउस चौरमा प्रतिनिधि, पर्यवेक्षक र सहभागीका लागि करिब ३० हजार वर्ग फिट क्षेत्रफलको जर्मन ह्याङ्गर निर्माण गरिएको छ ।

मिडिया स्पेस सोलुसनका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार बीच भागमा २० फिट चौडाइ र ७५ फिट लम्बाइको छानो तथा दुवैतर्फ थप ह्याङ्गर संरचना निर्माण गरिएको छ ।

उक्त संरचनामा करिब १५ हजार जना अट्न सक्ने बताइएको छ । महिला, ज्येष्ठ नागरिक तथा असहायका लागि करिब दुई हजार कुर्सी राखिने र अन्य सहभागीका लागि चौरमै बस्ने व्यवस्था गरिनेछ ।

ह्याङ्गरभित्र चारवटा एलईडी स्क्रिन जडान गरिने भएको छ ।

भट्टराईका अनुसार जर्मन ह्याङ्गर अस्थायी तर बलियो संरचना हो, जुन अल्मुनियमको ढाँचामा टेन्साइल फेब्रिकको छानो राखेर बनाइन्छ । यसले घाम, वर्षा र हुरीबाट सुरक्षा दिने बताइएको छ ।

ट्राफिक व्यवस्थापनमा विशेष तयारी

रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार उद्घाटन सत्रमा मात्रै करिब ३० हजार सहभागी उपस्थित हुने अनुमान गरिएको छ ।

सहभागीका सवारी साधन व्यवस्थापनका लागि छुट्टै पार्किङको व्यवस्था गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पूर्वबाट आउने सवारी साधनलाई केन्द्रीय बस टर्मिनल र अन्य क्षेत्रबाट आउने सवारी साधनलाई वीरेन्द्र बहुमुखी क्याम्पसको बाइपास सडकतर्फको चौरमा पार्किङ गरिने व्यवस्था मिलाइएको छ ।

महाधिवेशनका कारण भरतपुर क्षेत्रमा सुरक्षा र ट्राफिक व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ ।