घोराहीमा नौ वर्षे उपलब्धि : १९८ किमि सडक कालोपत्रदेखि ९२ प्रतिशत घरमा स्वच्छ खानेपानी पहुँच

घोराही (दाङ) – घोराही उपमहानगरपालिकाले पछिल्ला नौ वर्षमा पूर्वाधार, सेवा प्रवाह र सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ ।

नगरप्रमुख नरुलाल चौधरीका अनुसार यस अवधिमा १९८ किलोमिटर सडक कालोपत्र गरिएको छ भने ४५८ किलोमिटर सडक स्तरोन्नति तथा ग्राभेल गरिएको छ । त्यस्तै २८० किलोमिटर नयाँ सडक निर्माण र ६८.३ किलोमिटर सडक मर्मत सम्पन्न गरिएको छ ।

नगरका सबै वडालाई केन्द्रसँग जोड्ने लक्ष्यअनुसार २०७ वटा कल्भर्ट र पाँच वटा झोलुङ्गे पुल निर्माण गरिएको छ । सहरी सौन्दर्यकरण र सरसफाइलाई ध्यानमा राख्दै ९९ किलोमिटर ढल निर्माण गरिएको तथा एउटा व्यवस्थित स्यानिटरी ल्यान्डफिल साइट सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

नदी नियन्त्रणका लागि २०.९ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरी बाढी र कटानको जोखिम न्यूनीकरण गरिएको छ।

खानेपानी तथा सिँचाइ क्षेत्रमा १०८ कुवा र ७७ डिपबोरिङ निर्माण गरी हाल ९२ प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिएको नगरप्रमुख चौधरीले बताए कृषि क्षेत्रको विकासका लागि ४३ वटा कृत्रिम जलाशय निर्माण गरिएको छ, जसबाट ७३८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।

ऊर्जा क्षेत्रमा ८७ किलोमिटर प्रसारण लाइन विस्तार गरिएको तथा सात वटा सौर्य ऊर्जा प्लान्ट स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।

शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा समेत सुधार गरिएको बताइएको छ । यस अवधिमा २७ विद्यालय भवन र ३९ नयाँ कक्षाकोठा निर्माण गरिएको छ भने अधिकांश सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको छ। स्वास्थ्य क्षेत्रमा २८ वटा स्वास्थ्य संस्थाका भवन निर्माण गरिएको छ ।

सामाजिक सुरक्षाअन्तर्गत १७ हजार ३७४ लाभग्राहीलाई बैंकमार्फत रु ६३ करोड ५८ लाखभन्दा बढी भत्ता वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

घोराही उपमहानगरपालिकाले हालसम्म १३८ स्थानीय कानुन निर्माण गरी शासन प्रणालीलाई संस्थागत बनाएको छ । साथै वडास्तरबाटै अनलाइन घटना दर्ता, नागरिकता सिफारिस र राजस्व सङ्कलन प्रणाली लागू गरी सेवा प्रवाहलाई छिटो र पारदर्शी बनाइएको नगरप्रमुख चौधरीले बताए ।

वातावरण संरक्षणतर्फ धुवाँमुक्त भान्सा अभियानअन्तर्गत १ हजार ३०० इन्डक्सन चुलो र ४५० सुधारिएको चुलो वितरण गरिएको छ ।