भरतपुर महानगरको बजेट ५ अर्ब ५१ करोड बढी

चितवन – भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु पाँच अर्ब ५१ करोड ७० लाख २३ हजारको बजेट प्रस्तुत गरेको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले नगरसभामा उक्त बजेट सार्वजनिक गरेका हुन् ।

महानगरले आगामी बजेटका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत सङ्घ र प्रदेशतर्फबाट रु दुई अर्ब १७ करोड ७३ लाख ९८ हजार प्राप्त हुने अनुमान गरेको छ । यस्तै, सङ्घीय राजस्व बाँडफाँटबाट रु ३३ करोड १२ लाख ६४ हजार, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट रु १३ करोड ४० लाख ६१ हजार, नगर विकास कोषबाट रु चार करोड, जनसहभागिताबाट रु तीन करोड, बैंक मौज्दातबाट रु ७४ करोड ५० लाख तथा सडक बोर्ड नेपालबाट रु एक करोड ९३ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

महानगरले चालु आर्थिक वर्षमा रु पाँच अर्ब २२ करोडको बजेट ल्याएको थियो । तर चालु आवमा पुँजीगत खर्च अपेक्षाकृत कम हुँदा विकास निर्माणका कार्य सुस्ताएको र राजस्व सङ्कलनको लक्ष्यमा केही कमी आएको कार्यवाहक नगरप्रमुख अधिकारीले बताउनुभयो। चालु आर्थिक वर्षमा आन्तरिक आयतर्फ रु एक अर्ब ८० करोडको लक्ष्य राखिएको छ ।

आगामी बजेटमा सहरी पूर्वाधार, कृषि तथा पशु विकास, शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। ‘दिगो पूर्वाधार, समृद्धिको आधार’ भन्ने नारालाई आत्मसात गर्दै महानगरले विभिन्न विकास कार्यक्रम अघि सारेको जनाएको छ ।

सार्वजनिक–निजी साझेदारीमा फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने, निकुञ्जसँग जोडिएका बस्तीमा जङ्गली जनावर रोकथामका लागि फाउन्डेसनसहित मेसजाली निर्माण गर्ने, आयुर्वेद अस्पताल निर्माण तथा भरतपुर क्षेत्रमा साइकल लेन विस्तारलाई निरन्तरता दिने योजना नीति तथा कार्यक्रममा समेटिएका छन् ।

त्यसैगरी, भरतपुरको रामपुरमा निर्माणाधीन क्रिकेट रङ्गशालाका लागि रु १४ करोड विनियोजन गरिएको महानगरले जनाएको छ । उक्त बजेटले महानगरको पूर्वाधार विकास र सेवा विस्तारलाई थप गति दिने अपेक्षा गरिएको छ ।