रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले बुधबार शपथ ग्रहण गरेका छन्। काठमाडौंको चमतीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथ समारोहमा सभापति लामिछानेले नवनिर्वाचित केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण गर्नुका साथै पार्टीको चुनाव चिह्न ‘घण्टी’ उपहारस्वरूप हस्तान्तरण गरेका थिए। केन्द्रीय सदस्यको शपथपछि निर्वाचित पदाधिकारीले पनि पद तथा गोपनीयताको शपथ लिएका हुन्।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन यही असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनबाट सभापति, दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्रीसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ। सभापतिमा निर्वाचित रवि लामिछानेले यसअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका थिए।

महाधिवेशनबाट उपसभापति (खुला) मा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए भने महिला उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन्। त्यसैगरी महामन्त्रीमा विपिनकुमार आचार्य, सहमहामन्त्री (खुला) मा असिम शाह र हरि ढकाल तथा सहमहामन्त्री (महिला) मा निशा डाँगी निर्वाचित भएका छन्।

९९ सदस्यीय केन्द्रीय समितिमा खुला, समावेशी, खस–आर्य, आदिवासी–जनजाति, मधेसी, थारू, दलित, मुस्लिम तथा सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी सदस्यहरू निर्वाचित भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिँदै विभिन्न समूहबाट केन्द्रीय सदस्य चयन गरिएको हो।

शपथ ग्रहणसँगै रास्वपाको नवगठित नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हालेको छ। पार्टीले महाधिवेशनबाट पारित नीति तथा संगठनात्मक निर्णय कार्यान्वयन गर्दै आगामी राजनीतिक कार्यक्रमलाई अघि बढाउने तयारी गरेको जनाएको छ।