पोखरा – पोखरा महानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सात अर्ब १५ करोड २५ लाख रुपैयाँको वार्षिक विकास कार्यक्रम (बजेट) सर्वसम्मत रूपमा पारित गरेको छ।
महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले गत असार ५ गते प्रस्तुत गरेको बजेट नगरसभाले सर्वसम्मतिले अनुमोदन गरेको हो। पारित बजेटले आगामी वर्ष महानगरको विकास निर्माण, सेवा प्रवाह र पूर्वाधार विस्तारका कार्यक्रम सञ्चालन गर्ने आधार तयार गरेको छ।
बजेटका लागि सङ्घीय सरकारको वित्तीय हस्तान्तरणमार्फत तीन अर्ब १८ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसमध्ये सशर्त अनुदान दुई अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान पाँच करोड ५० लाख, समपूरक अनुदान एक करोड ८२ लाख र समानीकरण अनुदान ४९ करोड ३७ लाख रुपैयाँ रहेको छ।
त्यस्तै, गण्डकी प्रदेश सरकारबाट समपूरक, विशेष तथा समानीकरण अनुदान गरी कुल नौ करोड १५ लाख ३६ हजार रुपैयाँ प्राप्त हुने महानगरले जनाएको छ।
राजस्व बाँडफाँटअन्तर्गत सङ्घीय सरकारबाट ३४ करोड ३४ लाख ७३ हजार, गण्डकी प्रदेश सरकारबाट चार करोड नौ लाख ८६ हजार र स्थानीय राजस्व बाँडफाँटबाट एक अर्ब ३१ लाख १४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। आन्तरिक स्रोतबाट दुई अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। यससँगै महानगरको कुल आन्तरिक आय तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
पारित बजेटमध्ये ५५.१५ प्रतिशत चालु खर्चतर्फ र ४४.९५ प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।
नगरसभाले बजेटसँगै पोखरा महानगरपालिकाको आर्थिक विधेयक–२०८३, विनियोजन विधेयक–२०८३, न्यायिक समितिको वार्षिक प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन तथा कार्यपालिकाबाट सिफारिस भई आएका विभिन्न विधेयक, संशोधन विधेयक, मापदण्ड र अन्य कानुनहरू पनि पारित गरेको छ।
नगरसभा सम्पन्न भएपछि महानगर प्रमुख धनराज आचार्यले बजेट तथा विभिन्न कानुन सर्वसम्मत रूपमा पारित गर्न सहयोग पुर्याउने सम्पूर्ण नगरसभा सदस्यप्रति आभार व्यक्त गरे ।



