प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धिकरण निवारण (तेस्रो संशोधन) विधेयक पारित

काठमाडौं – प्रतिनिधिसभाले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। विधेयकमाथि दफावार छलफल सम्पन्न भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको जवाफपछि प्रतिनिधिसभाले उक्त विधेयक पारित गरेको हो।

विधेयकमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री डा. वाग्लेले भ्रष्टाचार तथा आर्थिक अपराध नियन्त्रणका विषयमा सार्थक बहस आवश्यक रहेको बताए ,। उनले सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा १३ वटा निकायले अघि बढाउन सक्ने व्यवस्था रहेको उल्लेख गर्दै आर्थिक अपराध नियन्त्रणका लागि व्यापक सहकार्य र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको धारणा राखे ।

विधेयक राजनीतिक पूर्वाग्रहका आधारमा ल्याइएको भन्ने आरोपको खण्डन गर्दै उनले यस्तो संवेदनशील कानुनलाई राजनीतिक उद्देश्यका लागि दुरुपयोग गर्न नहुने स्पष्ट पारे ।

“पूर्वाग्रह प्रेरित भएर कसैलाई दुःख दिने नियतले विधेयक ल्याइएको भन्ने आरोप निराधार हो। सम्पत्ति शुद्धिकरणजस्तो विषयलाई राजनीतिक अभिष्ट पूरा गर्न दुरुपयोग गरियो भने नेपाल ग्रे लिस्टबाट बाहिरिन सक्दैन,” मन्त्री वाग्लेले भने ।

उनले नेपाल ग्रे लिस्टमा रहिरहे वैदेशिक वित्तीय प्रणालीसँगको सम्बन्धमा समेत नकारात्मक असर पर्ने भएकाले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको कानुनी व्यवस्था र प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए ।

विधेयकमाथिको छलफलमा सांसदहरू गुरुप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, कमल सुवेदी, चन्देश्वर मण्डल, एशुदाकुमारी बराल, भरतबहादुर खड्का, पार्वती विक, महेन्द्रबहादुर शाही, हरिमोहन भण्डारी र बलावती शर्माले आफ्नो धारणा राखेका थिए ।