बाढी प्रभावित नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् ।

बाढीबाट प्रभावित विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द छन् । बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाले समेत प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित रहेको जनाएका छन् ।

बाढीका कारण विद्यार्थी, शिक्षक तथा अभिभावकसमेत बेपत्ता रहेको, विद्यालयका संरचना, सडक तथा पुलमा क्षति पुगेको र आवतजावतमा कठिनाइ रहेकाले तत्काल विद्यालय सञ्चालन गर्ने अवस्था नरहेको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

उहाँका अनुसार दैनिक जनजीवन केही सहज हुनुका साथै नदी वारपार गर्न सक्ने अवस्था बनेपछि मात्रै विद्यालय सञ्चालन गरिनेछ ।

विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढी आउन सक्ने सूचना प्राप्त भए पनि त्यसको प्रभाव यति ठूलो होला भन्ने अनुमान नहुँदा विद्यालयमा क्षति बढी भएको हो । केही विद्यालयले भने उच्च सतर्कता अपनाएका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको उनले बताए ।

“अहिलेको अवस्था र दैनिक जनजीवन असामान्य छ । केही समयपछि वैकल्पिक माध्यमबाट अध्ययन गराउने योजना बनाउनेछौँ,” उनले भने ।

त्रिशूली नदीको बाढीबाट सबैभन्दा बढी प्रभावित विदुर नगरपालिकाभित्र सञ्चालित ८३ विद्यालयमध्ये करिब एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन् । शिक्षा शाखाको तथ्याङ्कअनुसार चार विद्यालयका भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले तयार गरेको प्रारम्भिक विवरणअनुसार त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, चेतना आधारभूत विद्यालय र त्रिशूली सामुदायिक बोर्डिङ स्कुलका सम्पूर्ण संरचनामा क्षति पुगेको छ । ती विद्यालयमा तत्काल पठनपाठन सञ्चालन गर्न नसक्ने अवस्था रहेको जनाइएको छ ।

उत्तरगया इङ्लिस बोर्डिङ स्कुलका तीनवटा ब्लक र छात्रावास भवन पूर्ण रूपमा क्षति भएका छन् । हाल एउटा ब्लकमात्र बाँकी रहेको छ । चण्डेश्वरी माध्यमिक विद्यालयको दृष्टिविहीन विद्यार्थी बस्ने छात्रावास, शहीद जगतप्रकाशजङ्ग शाह संस्कृत माध्यमिक विद्यालय तथा पायोनियर इङ्लिस बोर्डिङ स्कुलको घेराबार आसपासमा समेत क्षति पुगेको छ ।

बाढीले रामचन्द्र आधारभूत विद्यालयको एउटा र उत्तरगया इङ्लिस बोर्डिङ स्कुलका दुईवटा बससमेत बगाएको छ ।

यस्तै, किस्पाङ गाउँपालिकामा विद्यालय भवनमा प्रत्यक्ष क्षति नपुगे पनि बाढीबाट विस्थापित नागरिकलाई राख्न दुई विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ । बेलकोटगढी नगरपालिकामा पनि एउटा विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ ।

बेलकोटगढी–७ स्थित शिलादेवी माध्यमिक विद्यालय बाढीबाट प्रत्यक्ष प्रभावित भएको छ भने वडा नं. ५ स्थित महादेव माध्यमिक विद्यालयसमेत प्रभावित बनेको छ ।

बाढीका कारण विद्यालयका भौतिक संरचनामा क्षति पुग्नुका साथै विद्यार्थी, शिक्षक तथा अभिभावकको अवस्था र आवतजावतको जोखिमलाई मध्यनजर गर्दै तत्काल पठनपाठन सञ्चालन गर्न नसकिएको स्थानीय तहहरूले जनाएका छन् ।