काठमाडाैं – बालविवाह, शिक्षा र अटिजमजस्ता संवेदनशील सामाजिक विषयलाई समेटिएको नेपाली चलचित्र ‘गौँथली’ आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। करिब २५ वर्षअघि प्रदर्शन भएको सोही शीर्षकको गीतिकथाबाट प्रेरित भएर निर्माण गरिएको चलचित्रले मनोरञ्जनसँगै सामाजिक चेतना फैलाउने लक्ष्य राखेको निर्माण पक्षले जनाएको छ।
चलचित्रको कथा वरिष्ठ चिकित्सक डा. भोला रिजालले लेख्नुभएको हो भने निर्माण तथा निर्देशन उहाँका छोरा डा. कपिल रिजालले गरेकाछन्। निर्देशक रिजालको यो दोस्रो चलचित्र हो। यसअघि उहाँले ‘ह्यारीकी प्यारी’ निर्देशन गरिसकेकाछन् ।
बेलायतमा दन्त चिकित्सकका रूपमा कार्यरत निर्देशक डा. रिजालले बाल्यकालदेखि नै कलाप्रति रुचि रहेकाले चलचित्र निर्माणमा सक्रिय भएको बताए ।
“पहिलेदेखि नै म्युजिक भिडियो र छोटा चलचित्र बनाउने गर्थें। अहिले समय अनुकूल लागेकाले चलचित्र निर्देशनमा लागेको हुँ। मेरा चलचित्रले मनोरञ्जनसँगै समाजलाई आवश्यक सन्देश पनि दिन्छन्,” उनले भने, ।
निर्देशक रिजालका अनुसार उनका दुवै चलचित्र स्वास्थ्यसम्बन्धी विषयसँग पनि जोडिएका छन्। ‘ह्यारीकी प्यारी’मा वीर्यदान (स्पर्म डोनेशन) को विषय उठाइएको थियो भने ‘गौँथली’मा अटिजम भएका व्यक्तिको जीवनशैलीलाई कथामा समेटिएको छ।
चलचित्रले पढ्न चाहने तर बालविवाहका कारण शिक्षाबाट वञ्चित हुन पुगेकी किशोरी र अटिजम भएका एक युवकको जीवन सङ्घर्षलाई केन्द्रमा राखेको छ। ग्रामीण परिवेशमा तयार गरिएको चलचित्रले शिक्षा, परिवार र सामाजिक स्वीकार्यताको महत्वलाई उजागर गर्ने प्रयास गरेको निर्देशकको भनाइ छ।
चलचित्रमा अभिनेता अरुण क्षेत्रीले अटिजम भएका युवकको भूमिका निर्वाह गर्नुभएको छ भने अभिनेत्री सिम्रन खड्काले एसईई उत्तीर्ण गर्ने सपना बोकेकी किशोरीको भूमिका निभाएका छन् ।
अभिनेता अरुण क्षेत्रीका अनुसार फरक जीवन परिस्थितिमा रहेका दुई पात्रको कथा मार्फत शिक्षाले जीवनमा पार्ने सकारात्मक प्रभावलाई चलचित्रले सरल ढंगले प्रस्तुत गरेको छ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा लेखे । चलचित्रको निर्माण सुमन गिरी र निर्देशक डा. कपिल रिजालले संयुक्त रूपमा गरेका हुन् ।
निर्देशक रिजालका अनुसार ‘गौँथली’ले घर, परिवार, शिक्षा र आपसी सम्बन्धको महत्वलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दै सामाजिक रूपान्तरणको सन्देश दिने प्रयास गरेको छ।



