मालदह आँपको मूल्य दोब्बर बढ्यो, किसान भने अझै निराश

जनकपुर – मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दोब्बरले बढेको छ। तर, मूल्यवृद्धिको लाभ किसानसम्म नपुगेको भन्दै उनीहरूले शीतभण्डार, प्रशोधन केन्द्र र प्रभावकारी बजार व्यवस्थापनको माग गरेका छन्।

दुई साताअघि १०० रुपैयाँमा करिब साढे दुई केजी बिक्री भइरहेको मालदह आँप अहिले प्रतिकेजी १०० रुपैयाँमा कारोबार भइरहेको छ। किसानका बगैँचामा मालदह आँप सकिन थालेपछि व्यापारीले बजार मूल्य बढाए पनि किसानले भने उचित मूल्य नपाएको गुनासो गरेका छन्।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का किसान उमेश यादवले बजारमा आँपको मूल्य बढे पनि त्यसको प्रत्यक्ष लाभ किसानले नपाएको बताए। किसानबाट सस्तो मूल्यमा खरिद गरिएको आँप बजारमा महँगोमा बिक्री भइरहेको उल्लेख गर्दै उनले बजार अनुगमन र मूल्य व्यवस्थापन प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

मिथिला नगरपालिकाका किसान धनिकलाल महतोले असार १५ पछि धान रोपाइँ सुरु हुने भएकाले किसान बगैँचाको आँप छिट्टै बिक्री गर्न बाध्य हुने र व्यापारीले त्यसैको फाइदा उठाएर कम मूल्यमा खरिद गर्ने गरेको बताए।

उनले शीतभण्डार, प्रशोधन केन्द्र र व्यवस्थित बजारको अभावका कारण किसानले उत्पादनको उचित मूल्य नपाएको उल्लेख गर्दै मूल्य सुनिश्चित गर्न सरकारले आवश्यक पहल गर्नुपर्ने बताए।

आँप व्यापारीका अनुसार बम्बई जातको आँप बजारबाट लगभग सकिएको छ भने मालदह आँप अब करिब १० दिनसम्म मात्रै उपलब्ध हुनेछ। त्यसपछि कलकत्तिया र आम्रपाली जातका आँप बजारमा आउनेछन्।