भवनमै सीमित बैतडीको ट्रमा सेन्टर, तीन वर्षमा दुर्घटनाबाट ४७ जनाको मृत्यु

बैतडी – दुर्घटना तथा विपद्का घाइतेलाई तत्काल उपचार सेवा उपलब्ध गराउने उद्देश्यले बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धेश्वर स्वास्थ्य चौकीमा निर्माण गरिएको ट्रमा सेन्टर जनशक्ति र आवश्यक उपकरण अभावका कारण चार वर्षदेखि सञ्चालनमा आउन सकेको छैन।

नगरपालिकाको १० लाख र संघीय सरकारको ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको ट्रमा सेन्टरको भवन आर्थिक वर्ष २०७७/७८ मै सम्पन्न भए पनि आवश्यक चिकित्सकीय जनशक्ति र उपकरणको व्यवस्थापन हुन नसक्दा सेवा सञ्चालन हुन नसकेको हो।

पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले भवनसँगै स्पाइनल ब्याकबोर्ड, एईडी उपकरण, अक्सिजन कन्सन्ट्रेटर, पेसेन्ट मोनिटर तथा १५ शय्यालगायत सामग्री उपलब्ध भए पनि एक्स–रे मेसिन, अर्थोपेडिक चिकित्सक, रेडियोग्राफर, स्टाफ नर्स र हेल्थ असिस्टेन्टको अभावका कारण ट्रमा सेन्टर सञ्चालन हुन नसकेको बताए।

उनका अनुसार आवश्यक जनशक्ति र उपकरण उपलब्ध भए ट्रमा सेन्टर तत्काल सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको छ।

बैतडीको खोडपे क्षेत्र दशरथचन्द, महाकाली र जयपृथ्वी राजमार्ग जोडिने भएकाले सवारी दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र मानिन्छ। ट्रमा सेन्टर सञ्चालनमा नआउँदा दुर्घटना र विपद्का घाइतेलाई तत्काल उपचार गर्न नसकी डडेल्धुरा अस्पताल र अन्य स्वास्थ्य संस्थामा रिफर गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ।

सिँगास गाउँपालिका–१ का जगदीश ऐरले ट्रमा सेन्टर सञ्चालन नहुँदा दुर्घटनामा गम्भीर घाइते भएका बिरामीले समयमै उपचार नपाएर ज्यान गुमाउने जोखिम बढेको बताए।

पाटन–८ का वडाध्यक्ष हरिश विष्टले ट्रमा सेन्टर सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति उपलब्ध गराइदिन प्रदेश तथा संघीय सरकारसँग पटक–पटक आग्रह गरिए पनि हालसम्म कुनै सुनुवाइ नभएको बताए। गत चैत २२ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई औपचारिक रूपमा पत्राचार गरिएको भए पनि कुनै प्रतिक्रिया नआएको उनले जानकारी दिए।

तीन वर्षमा ४७ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पछिल्लो तीन वर्षमा जिल्लामा भएका ३४ वटा सवारी दुर्घटनामा ४७ जनाको मृत्यु भएको छ भने १२६ जना घाइते भएका छन्।

आर्थिक वर्ष २०८०/८१ मा आठ वटा दुर्घटनामा सात जनाको मृत्यु र ४२ जना घाइते भएका थिए। आर्थिक वर्ष २०८१/८२ मा १० वटा दुर्घटनामा ११ जनाले ज्यान गुमाएका थिए।

चालु आर्थिक वर्ष २०८२/८३ मा मात्रै हालसम्म १६ वटा सवारी दुर्घटना भइसकेका छन्, जसमा २९ जनाको मृत्यु भएको छ भने ५९ जना घाइते भएका छन्। गत शुक्रबार पाटन नगरपालिका–८ गैराखानमा भएको बस दुर्घटनामा मात्रै २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीयवासीले बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै ट्रमा सेन्टर तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।