लमजुङ – गर्मी छल्न र प्राकृतिक सौन्दर्यको आनन्द लिन चाहने आन्तरिक पर्यटकको आकर्षण पछिल्लो समय लमजुङस्थित गाईखुरे झरना मा बढ्दै गएको छ। बेँसीसहर नगरपालिका–१ दलालमा, डुम्रे–बेँसीसहर सडक छेउमै रहेको यो झरना अहिले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।
स्थानीयका अनुसार झरनामा दैनिक करिब ५०० पर्यटक पुग्ने गरेका छन्। सार्वजनिक बिदा तथा सप्ताहान्तमा भने यो सङ्ख्या दोब्बरसम्म पुग्ने गरेको छ। बेँसीसहर बजारबाट करिब ६ किलोमिटर दूरीमा रहेको करिब १०० मिटर अग्लो झरना सहज पहुँचका कारण पर्यटकको रोजाइमा परेको हो।
गत वर्ष साउन महिनापछि यहाँ पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्न थालेको स्थानीयले बताएका छन्। यस वर्ष असार लागेसँगै झरना अवलोकन गर्ने, फोटो तथा भिडियो खिच्ने, सेल्फी लिने र प्राकृतिक पोखरीमा पौडी खेल्नेहरूको भीड अझ बढेको छ।
झरनाको माथिबाट झर्ने स्वच्छ पानी तलको प्राकृतिक पोखरीमा खस्दा आकर्षक दृश्य सिर्जना हुन्छ। घामको किरणसँग पानीका छिटा ठोक्किँदा देखिने इन्द्रेणीले झरनाको सौन्दर्यलाई थप मनमोहक बनाउने गरेको छ।
लमजुङका अतिरिक्त मनाङ, गोरखा, कास्की, तनहुँ र चितवन लगायत विभिन्न जिल्लाबाट पर्यटक यहाँ पुग्ने गरेका छन्। पर्यटकहरूले झरनाको प्राकृतिक सौन्दर्य, चिसो पानी र सहज पहुँचलाई मुख्य आकर्षणका रूपमा लिएका छन्।
पूर्वाधार विकासमा सरकारी लगानी
बेँसीसहर नगरपालिकाका अनुसार चालु आर्थिक वर्षमा करिब ९ लाख रुपैयाँ लागतमा झरना क्षेत्रमा दुईवटा पोखरी निर्माण गरिएको छ। साथै, गण्डकी प्रदेश सरकार अन्तर्गत उद्योग तथा पर्यटन मन्त्रालयले ‘एक जिल्ला, एक पर्यटन क्षेत्र’ कार्यक्रममार्फत आगामी आर्थिक वर्षका लागि गाईखुरे झरना विकासमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
उक्त बजेटबाट मस्र्याङ्दी नदीबाट पानी ल्याई वर्षभरि झरनामा पानी बग्ने व्यवस्था गर्ने, थप पोखरी निर्माण, पार्किङस्थल विकास तथा क्यानोनिङ र र्याफ्टिङजस्ता साहसिक पर्यटन गतिविधि सञ्चालन गर्ने योजना रहेको जनाइएको छ।
विदेशी पर्यटकको पनि आकर्षण
चक्रीय अन्नपूर्ण पदमार्ग को प्रवेशद्वारका रूपमा रहेको लमजुङ हुँदै यात्रा गर्ने विदेशी पर्यटकसमेत गाईखुरे झरना पुग्ने गरेका छन्। यसका साथै अक्टोपस झरना, बुङ झरना तथा हामखोला झरना मा पनि पर्यटकको चहलपहल बढ्दो क्रममा रहेको छ।
पर्यटन व्यवसायीहरूले प्राकृतिक सम्पदाको संरक्षण, प्रभावकारी प्रचारप्रसार र आवश्यक पूर्वाधार विकास गर्न सके गाईखुरे झरना प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरेका छन्। स्थानीयवासी पनि बढ्दो पर्यटक आगमनसँगै यस क्षेत्रको पर्यटन तथा स्थानीय व्यवसाय थप फस्टाउने अपेक्षामा छन्।



