चितवन — लगातारको वर्षाका कारण चितवनको भरतपुर महानगरपालिका र पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन्। गैँडाकोटमा ३५ जना विस्थापित भएका छन् भने भरतपुरका दर्जनौं घरपरिवार प्रभावित बनेका छन्।
भरतपुर महानगरपालिका–११ का गोर्खाली टोल, मृगकुञ्जलगायत क्षेत्र जलमग्न भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा सडक तथा बस्तीमा घुँडासम्म पानी जमेको देखिन्छ। घरभित्र पानी पसेपछि स्थानीयवासी समस्यामा परेका छन्।
स्थानीयका अनुसार पानी निकासको उचित व्यवस्था नहुँदा भरतपुरका बस्ती हरेक वर्षायाममा डुबानको समस्या भोग्दै आएका छन्। साइफन बन्द हुनु, जथाभावी प्लटिङका कारण कुलो मासिनु, नालीबिनै सडक निर्माण हुनु तथा निर्माण भएका नालीसमेत नियमित सफा नगरिनुले डुबानको समस्या बढेको उनीहरूको गुनासो छ।
यता, अविरल वर्षापछि गैँडाकोट नगरपालिकाका विभिन्न क्षेत्रमा डुबान हुँदा ३५ जना विस्थापित भएका छन्। प्रभावितहरू आफन्त तथा छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन्।
स्थानीयका अनुसार भृकुटीचोक, बेल्डिहा, प्रगति टोल र झापर्दी टोल क्षेत्रमा डुबानको प्रभाव बढी परेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार राति करिब १० बजे गैँडाकोट–४ स्थित जंगल क्षेत्रबाट आएको बाढी र नालाको पानी बस्तीमा पसेपछि उद्धार कार्य सञ्चालन गरिएको थियो।
इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक लक्ष्मण गिरीको नेतृत्वमा २० जनाको टोली तथा सशस्त्र प्रहरी बलको टोली परिचालन गरी नौ घरका ३५ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। घटनामा मानवीय तथा चौपाया क्षति भने नभएको जनाइएको छ।
यसैबीच, गैँडाकोट नगरपालिका–१५ मा वर्षाको पानी र नालीको बहाव घरमा पस्दा वडा अध्यक्ष प्रेमराज तिमल्सिनाको घरसमेत प्रभावित भएको छ। घरको तल्लो तलामा राखिएको करिब २० क्विन्टल धान तथा लत्ताकपडा भिजेको प्रहरीले जनाएको छ। स्थानीय सुदीप रानाभाटको घरमा पनि पानी पसेर लत्ताकपडालगायत सामग्रीमा क्षति पुगेको छ।
प्रहरीले प्रभावित क्षेत्रमा थप क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ भने वर्षा जारी रहेकाले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।



