संसद्‌मा प्रधानमन्त्री बालेनको आकस्मिक प्रवेश, एमालेको नियम उल्लंघन आरोप

काठमाडौं,— प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभाको बैठकमा आकस्मिक रूपमा सहभागी भएपछि संसद्मा विवाद उत्पन्न भएको छ। पूर्वसूचना बिना बैठकमा उपस्थित भएका प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि नेकपा एमालेले प्रतिनिधिसभा नियमावली उल्लंघन गरेको आरोप लगाएको छ।

प्रधानमन्त्री शाह र सभापति लामिछाने मंगलबार केहीबेरअघि सँगै संसद् भवनमा प्रवेश गरी बैठकमा सहभागी भएका थिए। प्रधानमन्त्री बैठकमा उपस्थित हुने विषयबारे यसअघि कुनै जानकारी सार्वजनिक गरिएको थिएन।

उनीहरू बैठक कक्षमा प्रवेश गरिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओली आफ्नो धारणा राखिरहेकी थिइन्। त्यसक्रममा एमाले सांसद ऐन महरले नियमापत्ति जनाउँदै सभामुखको ध्यानाकर्षण गराएका थिए।

महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (छ) उद्धृत गर्दै सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँड्न नपाइने व्यवस्था रहेको बताए। “माननीय खुश्बु ओली बोलिरहनुभएको अवस्थामा सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षका सभापतिज्यूले उक्त व्यवस्था उल्लंघन गर्नुभएको छ,” उनले भने, “यस विषयमा सभामुखको ध्यानाकर्षण गराउँदै रुलिङको माग गर्दछु।”

एमालेले संसद्को मर्यादा र नियमको पालना सबै सांसद तथा पदाधिकारीका लागि समान रूपमा लागू हुने भन्दै घटनाबारे सभामुखबाट स्पष्ट रुलिङ आउनुपर्ने माग गरेको छ।

प्रधानमन्त्री शाहको आकस्मिक उपस्थितिसँगै संसद् बैठकमा राजनीतिक तरंग सिर्जना भएको छ भने एमालेले उठाएको नियम उल्लंघनको विषयले थप चर्चा पाएको छ।