काठमाडौं – कुनै समय झापा, मोरङ र सुनसरीमा उत्पादन हुने जुट भारत र बङ्गलादेशसम्म निर्यात हुने गर्थ्यो। तर अहिले अवस्था पूर्ण रूपमा फेरिएको छ। स्वदेशी उत्पादन निरन्तर घट्दै गएपछि नेपाली जुट उद्योगहरू कच्चा पदार्थका लागि भारत र बङ्गलादेशको आयातमा झन्–झन् निर्भर बन्दै गएका छन्।
मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा काँकरभिट्टा नाकाबाट मात्रै रु ४ अर्ब ९१ करोड ६६ लाख ६२ हजार बराबरको कच्चा जुट आयात भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा रु ४ अर्ब ३४ करोड १२ लाख ६१ हजार बराबरको जुट आयात भएको थियो। यसअनुसार एक वर्षमै कच्चा जुट आयात रु ५७ करोड ५४ लाख अर्थात् १३.२५ प्रतिशत ले बढेको छ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवराम न्यौपानेका अनुसार काँकरभिट्टा नाकाबाट मूल्यका आधारमा आयात हुने वस्तुमध्ये पेट्रोल र डिजेलपछि कच्चा जुट तेस्रो स्थानमा रहेको छ। पछिल्ला वर्षहरूमा पूर्वी नाकाबाट कच्चा जुट आयात निरन्तर बढ्दै गएको तथ्याङ्कले देखाएको उनले बताए ।
सरकारी अभिलेखअनुसार मोरङ, सुनसरी र झापामा २०४३/४४ सालदेखि व्यावसायिक रूपमा जुटखेती विस्तार भएको थियो। त्यसबेला यहाँ उत्पादन भएको जुट स्वदेशी उद्योगको आवश्यकता पूरा गर्नुका साथै भारत र बङ्गलादेशमा समेत निर्यात हुने गर्थ्यो। अहिले भने स्वदेशी उत्पादनले उद्योगको माग धान्न नसक्दा त्यही देशहरूबाट ठूलो परिमाणमा कच्चा जुट आयात गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
कृषि क्षेत्रका अधिकारीहरूका अनुसार जुटखेती खुम्चिनुको मुख्य कारण उत्पादन लागत बढ्नु र किसानले उचित मूल्य नपाउनु हो। लागत उच्च भए पनि आम्दानी सन्तोषजनक नहुँदा किसानहरूले जुटखेती छाडेर धानलगायत अन्य बालीतर्फ आकर्षित हुन थालेका छन्।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार झापामा अहिले जुटखेती करिब पाँच हजार हेक्टर क्षेत्रफलमा सीमित भएको छ। उनका अनुसार लागत बढी र प्रतिफल कम भएकाले पछिल्ला केही वर्षयता किसानहरूले जुटखेतीबाट दूरी बढाउँदै गएका छन्, जसका कारण उत्पादनमा उल्लेख्य गिरावट आएको छ।
स्वदेशी उत्पादन कमजोर बन्दै जाँदा एकातिर उद्योगहरूको आयात निर्भरता बढिरहेको छ भने अर्कोतर्फ विदेशी मुद्रा बाहिरिने क्रम पनि तीव्र बनेको छ। कृषि विज्ञहरूले उचित मूल्य सुनिश्चित गर्ने, उत्पादन लागत घटाउने र किसानलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याउने हो भने नेपालको जुटखेती पुनर्जीवित गर्न सकिने बताएका छन्।



