काठमाडौं- सरकारले मन्त्रिपरिषद् बैठकले गरेका सात वटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रशासन, शिक्षा, लगानी, पशु स्वास्थ्य तथा राहत व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा निर्णय गरिएको जानकारी दिए ।
बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्याब (काठमाडौं) लाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।
यस्तै, नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्दै उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति प्रदान गरिएको छ।
सरकारले पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय पनि गरेको छ। यस निर्णयले मासुको गुणस्तर तथा खाद्य सुरक्षालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
त्यसैगरी, बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ संघीय संसद्मा पेस गर्न स्वीकृति दिइएको छ।
बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्रा. डा. खड्गबहादुर केसी (पर्वत) र सचिव पदमा प्रा. डा. रोजेश श्रेष्ठ (भोजपुर) लाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
यसैबीच, सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरूको उपचार र राहतको व्यवस्था गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।



