काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सरकार गठनको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको छ।
राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार राति बसेको संसदीय दलको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा सरकार गठनका लागि भइरहेको गणितीय चलखेलमा सहभागी नहुने निर्णय सर्वसम्मत रूपमा गरेको हो।
बैठकले बागमती प्रदेश सरकारमा सहभागी नहुने र सरकार गठनको दौडबाट बाहिर रहने निर्णय गरेको राप्रपा बागमती प्रदेश संसदीय दलका नेता थापाले जानकारी दिए।
उनका अनुसार उक्त निर्णय राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेको निर्णय र दिएको निर्देशनअनुसार गरिएको हो।
राप्रपाले प्रदेश सरकारको सत्ता समीकरणभन्दा पार्टीको नीतिगत अडानलाई प्राथमिकता दिँदै बागमती प्रदेश सरकारमा सहभागी नहुने स्पष्ट गरेको छ।



