झापा । मेचीनगर नगरपालिकाले वर्षौँदेखि फछ्र्योट हुन नसकेको बेरुजु रकम घटाउँदै शून्यमा झार्ने उद्देश्यले ‘शून्य बेरुजु’ अभियान सुरु गरेको छ ।
लामो समयदेखि फछ्र्योट हुन बाँकी बेरुजु रकम बढ्दै गएपछि अभियान सञ्चालन गर्नुपरेको नगरपालिकाले जनाएको छ । विसं २०५३ मा स्थापना भएको मेचीनगर नगरपालिकामा त्यसअघि अस्तित्वमा रहेका गाउँ विकास समितिको पालादेखिको आर्थिक बेरुजु समेत फछ्र्योट हुन बाँकी रहेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठका अनुसार ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७’ को नियम ८९ र ९० बमोजिम बेरुजु रकम दाखिला वा फछ्र्योट गर्न सम्बन्धित सबैलाई सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
नगरपालिकाले अभियानलाई चरणबद्ध रूपमा अघि बढाउने भएको छ । पहिलो चरणमा सम्बन्धित व्यक्ति तथा पक्षलाई बेरुजु रकम दाखिला वा फछ्र्योट गर्न आग्रह गरिएको छ । दोस्रो चरणमा निर्माण व्यवसायी तथा उद्योगी–व्यवसायीको बेरुजु फछ्र्योटका लागि सहजीकरण गरिदिन उनीहरू आबद्ध सङ्घ–संस्थालाई आग्रह गर्ने योजना बनाइएको छ ।
त्यसपछि पनि बेरुजु फछ्र्योट नगर्ने व्यक्तिको विवरण सार्वजनिक गर्ने नगरपालिकाको तयारी छ ।
महालेखा परीक्षकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार मेचीनगर नगरपालिकाको उक्त वर्षको बेरुजु रु १४ करोड ९९ लाख ४३० रहेको छ । आव २०८१/८२ भन्दा अगाडिको अद्यावधिक बेरुजु रु ८१ करोड ३० लाख ४१ हजार ४८७ रहेको छ ।
यसअनुसार मेचीनगर नगरपालिकाको हालसम्मको कुल बेरुजु रकम रु ९६ करोड २९ लाख ९६ हजार ९१७ पुगेको छ ।
“बेरुजुलाई शून्यमा झार्ने हाम्रो अभियान हो,” प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भन्नुभयो, “निर्माण व्यवसायी, जनप्रतिनिधि, व्यवसायी र अन्य सम्बन्धित व्यक्तिले बेरुजु फछ्र्योट गरेर सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ । फछ्र्योटका लागि पत्राचार गरेर पर्याप्त समयसमेत दिन्छौँ ।”
अभियान सुरु भएपछि वर्षौँदेखि बेरुजु रकम दाखिला वा फछ्र्योट नगरेका सरोकारवाला सम्पर्कमा आउन थालेका छन् । कतिपयले पुरानो बेरुजु रकम फछ्र्योटसमेत गरिसकेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाले बेरुजु फछ्र्योटलाई प्रभावकारी बनाउँदै वित्तीय अनुशासन कायम गर्ने र आगामी दिनमा बेरुजु न्यून गर्दै लैजाने लक्ष्य लिएको जनाएको छ ।



