काठमाडौं — काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन जटिल बन्दै गएपछि काठमाडौं उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री बालेन्द्र साहसँग तत्काल छलफल गर्ने भएको छ। फोरमको मंगलबार बसेको आकस्मिक बैठकले उपत्यकाको फोहोर व्यवस्थापनसहित समसामयिक विषयमा प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने निर्णय गरेको हो।
फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनका अनुसार प्रधानमन्त्रीसँग जतिसक्दो छिटो भेटघाटको समय माग गरी उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराइनेछ।
उपत्यकाको फोहोर विसर्जन हुँदै आएको बञ्चरेडाँडाका स्थानीयवासीले आफ्ना माग १५ दिनभित्र पूरा नगरे फोहोर विसर्जनमा रोक लगाउने चेतावनी दिएपछि मेयर्स फोरमले फोहोर व्यवस्थापनको विषयलाई तत्काल समाधान गर्न प्रधानमन्त्रीसँग छलफल गर्न लागेको हो।
नेपवेस्टसँगको सम्झौताबारे निर्णय गर्न आग्रह
फोरमले तत्कालीन सरकार र नेपवेस्टबीच उपत्यकाको फोहोर व्यवस्थापनका लागि भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरी वैकल्पिक व्यवस्थापनको बाटो खोल्ने विषयमा आवश्यक निर्णय गर्न प्रधानमन्त्रीसँग आग्रह गर्ने भएको छ।
फोरमले उपत्यकाको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय भएको जनाएको छ। यसको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको अध्यक्ष महर्जनले बताए ।
“काठमाडौँ उपत्यकाभित्रको फोहोर व्यवस्थापन तीनवटै तहका सरकारको साझा सरोकारको विषय हो। यो विषयलाई दीर्घकालीन रूपमा समाधान गर्न स्थानीय सरकार सदा प्रतिबद्ध छ,” महर्जनले भने ।
सडक बत्ती र जग्गाको विषय पनि उठाइने
प्रधानमन्त्रीसँगको भेटमा फोहोर व्यवस्थापनसँगै स्थानीय तहले प्रयोग गरिरहेका सरकारी जग्गाको भोगाधिकार र फोहोर व्यवस्थापनका लागि आवश्यक थप जग्गा उपलब्ध गराउने विषयमा पनि छलफल गरिनेछ।
त्यस्तै, स्थानीय तहले प्रयोग गर्दै आएका सडक बत्तीको शुल्क व्यवस्थापनका विषयमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने फोरमले जनाएको छ।
फोरमले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि आवश्यक नीतिगत तथा प्रशासनिक निर्णय संघीय सरकारले गर्नुपर्नेमा जोड दिएको छ।
सिंहदरबारको बैठकमा भएको व्यवहारप्रति आपत्ति
फोरमले भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा आफ्ना पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको भनिएको व्यवहारप्रति समेत आपत्ति जनाएको छ।
प्रधानमन्त्रीसँग हुने भेटमा उक्त विषय पनि उठाउने निर्णय भएको अध्यक्ष महर्जनले जानकारी दिए ।
यसअघि पनि फोरमले तत्कालीन सरकार र नेपवेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्न वा सम्झौता खारेज गरी फोहोर व्यवस्थापनको वैकल्पिक बाटो खोल्नुपर्ने विषयमा पटक–पटक छलफल गर्दै आएको जनाएको छ।
बञ्चरेडाँडाका स्थानीयवासीले माग पूरा नभए फोहोर विसर्जनमा अवरोध गर्ने चेतावनी दिएसँगै उपत्यकाको फोहोर व्यवस्थापन पुनः संकटमा पर्न सक्ने देखिएको छ। त्यसैले स्थानीय तहका प्रमुखहरूले संघीय सरकारसँग तत्काल समन्वय र ठोस निर्णयको माग गरेका छन्।



