काठमाडौं – तिब्बततर्फबाट आएको ठूलो बाढीले रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा क्षति पुर्याएको छ। बुधबार बिहान करिब ९ बजेतिर अचानक आएको बाढीले टिमुरे बजारको बस्ती क्षेत्रमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
अचानक ठूलो बाढी आएपछि टिमुरे बजार क्षेत्रमा त्रास फैलिएको छ। बाढीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
यसैबीच, भोटेकोशी नदीमा आएको बाढी नुवाकोटसम्म पुगेको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका सूचना अधिकारी रूपेशप्रसाद नेपालका अनुसार बाढी नुवाकोट आइपुगेको छ।
बाढीबाट नुवाकोटमा भएको क्षतिको विवरण अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको उहाँले बताउनुभयो। नदीको बहाव बढेसँगै तटीय क्षेत्रमा जोखिम हुन सक्ने भएकाले नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै उद्धार तथा राहतका लागि तयारी गर्न जिल्ला समन्वय समितिको बैठकसमेत बसिरहेको जनाइएको छ।
यसअघि रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आएको जानकारी प्राप्त भएको बताउनुभएको थियो। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।
प्रशासन तथा सुरक्षा निकायले बाढीको थप अवस्था र क्षतिको विवरण सङ्कलन तथा सम्भावित उद्धारका लागि आवश्यक तयारी गरिरहेको जनाइएको छ।


