भोटेकोशी बाढीमा गोसाईंकुण्ड गाउँपालिकाका उपाध्यक्ष र वडाध्यक्ष सम्पर्कविहीन, सयौं बासिन्दा बेपत्ता

रसुवा – तिब्बततर्फबाट आएको भीषण बाढीको केन्द्रविन्दु बनेको रसुवाको गोसाईंकुण्ड गाउँपालिकाका उपाध्यक्ष प्रतिमा तामाङ र वडा नम्बर ५ का वडाध्यक्ष दावा मिङ्मार तामाङ सम्पर्कविहीन भएका छन्। बाढी आएलगत्तै मंगलबार बिहानदेखि दुवै जना सम्पर्कविहीन भएको गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताएका छन्।

अध्यक्ष तामाङका अनुसार दुवै जनाको मोबाइलमा सम्पर्क हुन नसकेको र अहिले फोन स्वीच अफ भएको छ। उपाध्यक्ष प्रतिमा तामाङ वडा नम्बर ५ अन्तर्गत स्याफ्रुबेसीकी हुन् भने वडाध्यक्ष दावा मिङ्मार तामाङ पनि बाढी प्रभावित क्षेत्रमै थिए।

बाढीबाट गाउँपालिकाको वडा नम्बर २ र ५ अन्तर्गतका तटीय क्षेत्रमा ठूलो मानवीय क्षति भएको छ। तटीय क्षेत्रका सयौं बासिन्दा बेपत्ता भएको हुन सक्ने अध्यक्ष तामाङले बताएका छन्। बाढीले पुर्‍याएको क्षतिको अवस्था अत्यन्त भयावह रहेकाले बेपत्ता तथा प्रभावित नागरिकको यकिन विवरण संकलन गर्नसमेत कठिनाइ भइरहेको उनको भनाइ छ।

अध्यक्ष तामाङका अनुसार गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूले घटनापछि निरन्तर विवरण संकलन गर्ने प्रयास गरिरहेका छन्। तर विपद्को व्यापकता र सम्पर्क विच्छेदका कारण हराएका तथा प्रभावित मानिसको संख्या यकिन गर्न नसकिएको उनले बताए।

बाढीले गोसाईंकुण्ड गाउँपालिकाको भवनसमेत बगाएको र तटीय क्षेत्रमा रहेका अधिकांश घरहरूमा ठूलो क्षति पुगेको अध्यक्ष तामाङले बताएका छन्। वडा नम्बर २ अन्तर्गत पर्ने रसुवागढी–टिमुरे क्षेत्र तथा वडा नम्बर ५ को स्याफ्रुबेसी आसपासका बस्ती बाढीबाट गम्भीर रूपमा प्रभावित भएका छन्।

‘मानवीय र भौतिक क्षति यो युगले पूर्ति गर्न नसक्ने खालको अकल्पनीय छ,’ अध्यक्ष तामाङले घटनाको अवस्थाबारे बताउँदै भनेका छन्। आफूहरू अत्यन्त कठिन परिस्थितिमा रहेको भन्दै उनले उद्धार र राहतका लागि तत्काल थप सरकारी सहयोग आवश्यक रहेको बताए।

उनले केन्द्र सरकारबाट उद्धारका लागि अपेक्षित रूपमा पहल हुन नसकेको गुनासोसमेत गरेका छन्। एकाध हेलिकोप्टर उडे पनि विपद्को गम्भीरताअनुसार राज्यको उपस्थिति र उद्धार प्रयास प्रभावकारी नदेखिएको उनको भनाइ छ।

भोटेकोशी नदीमा आएको बाढीले रसुवाका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनासहितका संरचनामा ठूलो क्षति पुर्‍याएको छ। यससँगै सयौं नागरिकको अवस्था अज्ञात रहेकाले अहिले उद्धार, खोजी तथा बेपत्ताको यकिन विवरण संकलनलाई प्राथमिकता दिनुपर्ने अवस्था देखिएको छ।