सुधन गुरुङले गैरकानुनी सम्पत्ति आर्जन गरेको प्रमाण नदेखिएको समितिको निष्कर्ष

काठमाडौं — पूर्वगृहमन्त्री तथा सुधन गुरुङ को सम्पत्ति विवरणबारे छानबिन गर्न गठित समितिले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुने पर्याप्त आधार र प्रमाण फेला नपरेको निष्कर्ष निकालेको छ ।

समितिले तयार पारेको प्रतिवेदन मन्त्रिपरिषद्ले मंगलबार ग्रहण गरेको छ । प्रतिवेदनमा गुरुङको आय, लगानी, शेयर खरिद तथा विभिन्न आर्थिक गतिविधिबारे अध्ययन, विश्लेषण र छानबिन गरिएको उल्लेख छ ।

प्रतिवेदनअनुसार गुरुङले आर्जन गरेको आयबाट विभिन्न कम्पनीमा लगानी तथा शेयर खरिदलगायतका कार्य गरेको देखिए पनि उपलब्ध सूचना, कागजात, प्रमाण तथा विवरणका आधारमा गरिएको अध्ययनबाट गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुने यथेष्ट आधार फेला नपरेको निष्कर्ष निकालिएको हो।

प्रतिवेदनमा भनिएको छ कि समितिसमक्ष प्राप्त भएका सूचना, कागजात र विवरणहरूको विश्लेषण गर्दा गुरुङको आय र खर्चबीच अस्वाभाविक वा गैरकानुनी स्रोतबाट सम्पत्ति आर्जन भएको पुष्टि गर्ने प्रमाण भेटिएको छैन।

मन्त्रिपरिषद्ले प्रतिवेदन ग्रहण गरेसँगै यस विषयमा गरिएको सरकारी छानबिनले गुरुङविरुद्ध उठाइएका गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी आरोप पुष्टि हुन नसकेको निष्कर्ष सार्वजनिक भएको छ।