जुम्ला – कर्णालीमा स्याउ निर्यातको मुख्य सिजन चलिरहेका बेला लगातारको वर्षासँगै कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्ला, मुगु र हुम्लाका स्याउ व्यापारीको करोडौँको कारोबार जोखिममा परेको छ । जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो, ढुङ्गा र लेदो खसेर सडक अवरुद्ध भएपछि स्याउ बोकेका दर्जनौँ गाडी तीन दिनदेखि बाटोमै थन्किएका छन् ।
यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ देशका प्रमुख बजारमा पठाउने मुख्य सिजन हो । स्याउले भरिएका गाडी दैनिकजसो सुर्खेत, नेपालगन्ज, बुटवल, चितवन, पोखरा, काठमाडौँ र वीरगन्जतर्फ जाने गरेका छन् । तर, सडक अवरुद्ध भएपछि एक–दुई दिनमै बजार पुग्ने लक्ष्यसहित हिँडेका गाडी बीच बाटोमै रोकिएका छन् ।
लामो समयसम्म सडक खुल्न नसके स्याउ कुहिएर ठूलो नोक्सानी व्यहोर्नुपर्ने चिन्तामा व्यापारी छन् । जुम्लाका स्याउ व्यापारी मक्कर शाहीले शनिबारदेखि राजमार्गका विभिन्न स्थानमा पहिरो, ढुङ्गा र लेदो खसेपछि आफूहरू बाटोमै अलपत्र परेको बताए ।
“सडक कहिले खुल्ने हो थाहा छैन । अझै तीन–चार दिनपछि मात्र बाटो खुल्छ भन्छन्,” उनले भने, “त्यतिञ्जेलसम्म स्याउ कुहिएर जाने हो कि भन्ने डर लागिरहेको छ ।”
व्यापारीका अनुसार स्याउजस्तो छिट्टै बिग्रने कृषि उपजको ढुवानीमा सडक अवरोध हुनु भनेको उत्पादन बिक्रीको अवसर गुम्नु मात्र होइन, किसानदेखि व्यापारीसम्मको लगानी नै जोखिममा पर्नु हो । स्वदेशमै व्यापार गरेर केही आम्दानी गर्ने उद्देश्यले लगानी गरेका व्यवसायीले सडककै कारण घाटा व्यहोर्नुपर्ने अवस्था आएको उनीहरूको गुनासो छ ।
स्याउ व्यापारी हस्तबहादुर रावतले गत वर्ष पनि वर्षा, बाढी र पहिरोका कारण करिब रु १० लाख घाटा व्यहोर्नुपरेको बताए । यस वर्ष पनि सडकको समस्या दोहोरिएपछि व्यवसाय नै जोखिममा परेको उनकाे भनाइ छ ।
“भरपर्दो सडक नहुँदासम्म व्यापारीका समस्या समाधान हुँदैनन्,” रावतले भने, “यस वर्ष पनि घाटा व्यहोर्नुपर्ने अवस्था देखिएको छ । विपद्का कारण क्षति भएमा राज्यका तर्फबाट राहतको व्यवस्था हुनुपर्छ ।”
आधा स्याउ बजार पुगिसक्यो
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार यस वर्ष जिल्लामा १९ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको छ । त्यसमध्ये हालसम्म करिब ५० प्रतिशत स्याउ बाहिरी बजारमा पठाइसकिएको छ ।
मुख्य निर्यातकै समयमा सडक अवरुद्ध हुँदा बाँकी स्याउ बजारसम्म पुर्याउन समस्या भएको उनले बताए ।
“मनसुनजन्य विपद्का कारण व्यापारीले ठूलो समस्या भोग्नुपरेको छ,” अधिकारीले भने, “पहिरोका कारण स्याउ बोकेका दर्जनौँ गाडी अगाडि बढ्न नसक्नु व्यापारीको मात्र समस्या होइन, सिङ्गो जुम्लाले नै आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था हो ।”
स्याउ जुम्लाको प्रमुख नगदेबालीमध्ये एक हो । उत्पादनपछि समयमा बजारसम्म पुर्याउन नसक्दा गुणस्तर घट्ने, मूल्य कम हुने र अन्ततः स्याउ नै नष्ट हुने जोखिम हुन्छ । त्यसैले सडक अवरोध लम्बिँदै जाँदा यसको प्रत्यक्ष असर किसानको आम्दानी र स्थानीय अर्थतन्त्रमा पर्ने देखिन्छ ।
सडक खुलाउन मेसिन र प्राविधिक टोली परिचालन
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार शनिबार राति करिब ७ बजेदेखि कर्णाली राजमार्गको गगने खोलामा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । आइतबार कालीकोटको पिली तथा एस मोडमा समेत पहिरो र ढुङ्गा खसेर सडकमा क्षति पुगेको उनले जानकारी दिए ।
सडक खुलाउन आइतबार बिहान ५ बजेदेखि नै मेसिन तथा प्राविधिक टोली परिचालन गरिएको छ । तर, लेदो, ढुङ्गा र चट्टानसहितको पहिरोले राजमार्गका विभिन्न स्थानमा क्षति पुर्याएकाले तत्कालै यातायात सञ्चालनमा ल्याउन कठिनाइ भएको कार्यालयले जनाएको छ ।
महताराका अनुसार सडकको अवस्था जोखिमपूर्ण रहेकाले आधिकारिक सूचना जारी नभएसम्म उक्त सडकखण्डमा यात्रा नगर्न यात्रु तथा सर्वसाधारणलाई आग्रह गरिएको छ । वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च हुने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन उनले आग्रह गरे ।
सडक खुलाउने काम उच्च प्राथमिकताका साथ अघि बढाइए पनि पूर्ण रूपमा आवागमन सहज हुन तीन दिनसम्म लाग्न सक्ने कार्यालयको अनुमान छ ।
माथिल्लो कर्णालीका सवारीसाधन पनि रोकिए
सडक अवरुद्ध भएपछि जुम्ला, कालीकोट, मुगु र हुम्लाबाट सुर्खेततर्फ आउँदै गरेका सवारीसाधनसमेत बाटोमै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीका अनुसार सुर्खेतबाट माथिल्लो कर्णालीतर्फ गएका सवारीसाधन दैलेखको राकम, खिड्कीज्यूला र दही खोलालगायतका क्षेत्रमा रोकिएका छन् ।
माथिल्लो कर्णालीबाट स्याउ बोकेर आएका गाडी पनि तीन दिनदेखि सडकमा थन्किएका छन् । सडक अवरोधले स्याउ व्यापारीलाई आर्थिक मर्का पर्नुका साथै यात्रु तथा अन्य व्यवसायीसमेत प्रभावित भएको प्रहरीले जनाएको छ ।
स्याउ बजारमा पठाउने मुख्य समयमा राजमार्ग अवरुद्ध भएपछि अहिले कर्णालीका व्यापारीको चिन्ता एउटै छ—सडक कहिले खुल्छ र गाडीमा थन्किएको स्याउ कति जोगिन्छ ? सडक खुल्न जति ढिला हुन्छ, त्यति नै स्याउको गुणस्तर घट्ने र व्यापारी तथा किसानको नोक्सानी बढ्ने जोखिम छ ।



